५२ वर्षको उमेरमा स्नातक भर्ना भए वडाध्यक्ष खनाल

हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिका १ नम्बर वडा अध्यक्ष शिवप्रसाद खनाल ५२ वर्षको उमेरमा स्नातक अध्ययनको लागि क्याम्पस भर्ना भएका छन् । आफैँ व्यवस्थापन समितिको अध्यक्ष रहेको विद्यालयबाट गत वर्ष १२ कक्षा उत्तीर्ण गरेका खनालले हेटौंडा–१९ बस्तीपुरस्थित निर्मल बहुमुखी क्याम्पसमा शिक्षाशास्त्र संकायतर्फ स्नातक तहमा भर्ना गरेका हुन् ।

मनहरी गाउँपालिका १ नम्बर वडाको दोस्रो कार्यकालका लागि वडा अध्यक्ष रहेका खनालले वडा अध्यक्ष रहँदा ४८ वर्षको उमेरमा कक्षा ११ मा भर्ना गरेका थिए । विद्यालय जाने उमेरमा एसएलसीसम्म मात्रै पास गरेर पढ्नै रहर हुँदाहुँदै छाडेका उनले प्लस २ पश्चात अहिले ब्याच्लरमा भर्ना गरेका हुन् ।

‘४८ वर्षको उमेरमा ११ कक्षा भर्ना भएर १२ पनि पास गरेँ । एकवर्ष खाली बसेर अहिले ब्याचलर भर्ना भएको छु’, वडा अध्यक्ष खनालले भने, ‘प्लस २ जस्तै ब्याच्लर पनि कटाउन सक्छु भन्ने आँट रहेको छ ।’ जनप्रतिनिधि भएपछि जनताको काममा व्यस्त भएकाले गत वर्ष स्नातक भर्ना गर्न नभ्याएको बताउँदै उनले अब पढाई र जनतको काम सँगसँगै अघि बढाएर ४ वर्षे स्नातक तह पूरा गर्ने योजना रहेको सुनाए ।

प्रौढ उमेरमा स्नातक भर्ना हुन आएका वडा अध्यक्ष खनाललाई क्याम्पसमा स्वागतसहित भर्ना गरिएको निर्मल बहुमुखी क्याम्पस प्रमुख सुवासचन्द्र कँडेलले बताए । २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट वडा अध्यक्षमा विजयी बनेका खनालले २०७९ को निर्वाचनमा पनि पुनः वडा अध्यक्षमा निर्वाचित भएका थिए ।

विद्यालयको पढाइ सुधार्ने अभियानका साथै आफ्नो अधुरो पढाई पूरा गरी आत्मविश्वासी बन्न यो उमेरमा पनि उच्च शिक्षालाई निरन्तरता दिइएको उनले बताए । मनहरी गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेतीले वडा अध्यक्ष खनालले यो उमेरमा पनि पढाईलाई निरन्तरता दिएर गाउँबासीलाई पढाईको महत्वबारे बुझ्ने प्रेरणा प्रदान गरेको प्रतिक्रिया दिए ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.