हेर्टौँडा । हेटौँडा–१३ स्थित पदमपोखरी र मनहरी क्षेत्रका स्थानीयबासीले बस्तीलाई मध्यवर्ती क्षेत्रबाट हटाउन माग गर्दै हस्ताक्षर संकलन अभियान संचालन गरेको छ । भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बस्ती संघर्ष समितिको अगुवाइमा सुरु गरिएको अभियानमा यस क्षेत्रका बासिन्दाले वर्षौँदेखि बसोबास गर्दै आएको जग्गामा दावी गर्न नपाएको गुनासो समेत गरेका छन् ।
समितिका अनुसार संकलित हस्ताक्षर स्थानीय, प्रदेश र संघीय सरकार समक्ष बुझाइनेछ । जसबाट दवाव सिर्जना गर्दै आफ्ना माग पूरा गराउने उद्देश्य लिइएको छ । समितिका संयोजक सूर्य थोकरका अनुसार, यसअघि पनि पटक–पटक सरोकारवाला समक्ष आवाज उठाउँदा सुनुवाइ नभएकोले यो कदम अगाडि बढाएको हो ।
उनले अब पनि माग सम्बोधन नभए थप आन्दोलनको तयारी भइरहेको जानकारी दिए । पदमपोखरी चोकमा आयोजित कार्यक्रममा सहभागीहरूले वि.सं.२०११ मा हेटौँडा १२, १३, १४ र वि.सं. १९९५ मा मनहरीको गोगनपानीमा बसोबास सुरु भइसकेको उल्लेख गर्दै त्यसपछि ती क्षेत्रलाई राष्ट्रिय निकुञ्ज अन्तर्गतको मध्यवर्ती क्षेत्रमा पार्नु अन्यायपूर्ण भएको धारणा राखेका छन् ।
उनले राष्ट्रिय निकुञ्ज ऐन २०२८ र मध्यवर्ती क्षेत्र नियमावली २०५२ को नाममा वि.सं.२०६३ यता चितवन र पर्सा राष्ट्रिय निकुञ्ज अन्तर्गत गाभिएको प्रक्रियालाई खारेज गर्दै कानुन नै परिमार्जन गर्नुपर्ने माग अघि बढाएका छन् ।
कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधिहको उपस्थिति रहेको थियो । सहभागीमध्ये नेपाली कांग्रेसका धिरेन लामा, नेकपा माओवादी केन्द्रका सोविन थिङ, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा एमाले, राप्रपाका स्थानीय नेताहरू तथा मनहरीबाट संघर्ष समितिका संयोजक क्षेत्रबहादुर वाइबाले ऐक्यबद्धता व्यक्त गरेका थिए ।

















