हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि २ अर्ब ८५ करोड ५ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। १९औँ नगरसभामा उपप्रमुख राजेश बानियाँले बजेट प्रस्तुत गर्दै यसको कार्यान्वयनका लागि आन्तरिक स्रोत, राजस्व बाँडफाँट तथा संघीय र प्रदेश सरकारबाट प्राप्त हुने अनुदानलाई मुख्य आधार बनाइएको जानकारी दिए।
प्रस्तुत बजेटअनुसार आन्तरिक स्रोतबाट ५७ करोड ३६ लाख ८० हजार रुपैयाँ, राजस्व बाँडफाँटबाट ९१ करोड २० लाख ४८ हजार रुपैयाँ, प्रदेश सरकारबाट विभिन्न शीर्षकमा १० करोड १ लाख ७२ हजार रुपैयाँ तथा संघीय सरकारबाट १ अर्ब १८ करोड ४६ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।
उपमहानगरले पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै यस क्षेत्रमा ६७ करोड १९ लाख ८१ हजार रुपैयाँ विनियोजन गरेको छ। यस्तै, वडास्तरीय योजना तथा कार्यक्रम सञ्चालनका लागि ४८ करोड ४० लाख ६२ हजार रुपैयाँ छुट्याइएको छ। सामाजिक विकासतर्फ सबैभन्दा बढी ८४ करोड १५ लाख २५ हजार रुपैयाँ विनियोजन गरिएको छ भने आर्थिक विकासका लागि १० करोड ३६ लाख रुपैयाँ व्यवस्था गरिएको छ। जनस्वास्थ्य क्षेत्रमा १२ करोड ५७ लाख रुपैयाँ र युवा तथा खेलकुद क्षेत्रमा १ करोड ४० लाख रुपैयाँ विनियोजन गरिएको छ।
नगरसभामा प्रस्तुत बजेटले आगामी वर्षको नीति तथा कार्यक्रम कार्यान्वयनका लागि आवश्यक स्रोत व्यवस्थापनको आधार तय गरेको उपमहानगरपालिकाले जनाएको छ।
चालु आर्थिक वर्षको खर्च विवरणअनुसार पूँजीगततर्फ ९८ करोड ९४ लाख ११ हजार रुपैयाँ विनियोजन गरिएकोमा जेठ मसान्तसम्म ३१ करोड ३६ लाख ३९ हजार रुपैयाँ खर्च भएको छ। वित्तीय व्यवस्थापनतर्फ १ करोड रुपैयाँ विनियोजन गरिएकामा ७४ लाख ९९ हजार रुपैयाँ खर्च भएको जनाइएको छ। त्यसैगरी चालुतर्फ १ अर्ब ९३ करोड ५५ लाख ७५ हजार रुपैयाँ विनियोजन भएकोमा जेठ मसान्तसम्म १ अर्ब १८ करोड २० लाख रुपैयाँ खर्च भएको प्रतिवेदनमा उल्लेख गरिएको छ।
यसैबीच, नगरप्रमुख मीनाकुमारी लामाले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा नगरलाई उत्पादनमुखी बनाउने उद्देश्यसहित ‘बारीदेखि बजारसम्म’ नीति अघि सारिएको छ। कृषक समूह तथा कृषि सहकारीमार्फत अम्बा, मेवा, लिची, केरा, ड्रयागन फ्रुट र एभोकाडोलगायत फलफूल खेती विस्तारलाई प्रोत्साहन गरिने उल्लेख गरिएको छ। साथै, रैथाने बीउ संरक्षणका लागि ‘दिदीबहिनी बीउ बैंक’ कार्यक्रम सञ्चालन गरिने भएको छ।
उपमहानगरले आगामी आर्थिक वर्षलाई पर्यटन प्रवर्द्धनको वर्षका रूपमा मनाउने घोषणा गर्दै ‘जाऔँ हेटौंडा, रमाऔँ हेटौंडामा’ अभियान सञ्चालन गरी पर्यटन वर्ष २०८३ मनाउने भएको छ। एक वडा एक पर्यटकीय गन्तव्यको अवधारणाअनुसार धार्मिक, ऐतिहासिक, सांस्कृतिक तथा प्राकृतिक सम्पदाको संरक्षण र विकासमा जोड दिइने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।
नीति तथा कार्यक्रममा दिगो विकास, सुशासन, पूर्वाधार विस्तार, आर्थिक समृद्धि, हरियाली प्रवर्द्धन, उद्यमशीलता विकास, रोजगारी सिर्जना तथा गुणस्तरीय सेवा प्रवाहलाई प्राथमिकतामा राखिएको छ। साथै कृषि, पशुपन्छी, पर्यटन, शिक्षा, स्वास्थ्य, युवा तथा खेलकुद, महिला तथा बालबालिका, वातावरण संरक्षण, विपद् व्यवस्थापन र संस्थागत सुशासनका विषयलाई समेत समेटिएको छ।















