हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सत्ता साझेदारीबारे कांग्रेस नेतृत्वसँग भएको पूर्वसहमति पालना नगरेको भन्दै निवर्तमान मुख्यमन्त्री बहादुरसिंह लामा पक्ष असन्तुष्ट बनेको छ ।
बानियाँले एमालेका ६ जना र नेपाली कांग्रेसका २ जनालाई मन्त्री बनाएर पद तथा गोपनीयताको शपथ गराएका छन् । तर, ती नियुक्तिहरूमा पूर्वमुख्यमन्त्री लामासँग भएको सहमति विपरीत व्यक्तिहरू समावेश गरिएको असन्तुष्ट व्यक्त गरिएको हो ।
१७ साउनमा बुढानीलकण्ठस्थित पार्टी सभापति शेरबहादुर देउवाको निवासमा भएको बैठकमा धादिङका गोविन्द लम्साल, चितवनकी माया श्रेष्ठ र गीता गुरूङलाई मन्त्री बनाउने सहमति भएको थियो । तर, बानियाँले भने तीनै जनालाई आज पद तथा गोपनीयताको शपथ गराएनन् । बानियाँले उक्त सहमति नमान्दै आफ्नै रोजाइबाट धादिङका शिवराज अधिकारी र सिन्धुपाल्चोकका कृष्णकुमार तामाङलाई मन्त्री नियुक्त गरे ।
तामाङलाई खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी दिइएको छ भने अधिकारीको जिम्मेवारी पछि तोकिने जनाइएको छ । निवर्तमान मुख्यमन्त्री लामाले बानियाँको यो कदमलाई अस्वीकार्य ठहर गर्दै पार्टी नेतृत्वसँग गम्भीर रुपमा विषय उठाउने बताएका छन् ।
लामाले भने, “सभापतिज्यूसँग बसेर स्पष्ट सहमति भएको थियो। हामी त्यही सहमतिको आधारमा अघि बढेका थियौं । तर, सहमति विपरीत निर्णय गरियो, जसलाई हामी मान्दैनौं ।”उनले मन्त्री नियुक्तिको विषयमा मंगलबार बानियाँसँग छलफल भएको भन्दै आजै काठमाडौं पुगेर कांग्रेस सभापति देउवासँग प्रत्यक्ष संवाद गर्ने बताए । यसअघि १४ साउनमा लम्साल, श्रेष्ठ र गुरूङलाई मन्त्री बनाउने निर्णय भएको थियो । सो दिन बिहान ९ बजे शपथग्रहण कार्यक्रम तय भए पनि स्थगित गरिएको थियो ।
१५ साउनमा फेरि शपथको समय तोकिए पनि प्रदेश प्रमुख दीपक प्रसाद देवकोटा आकस्मिक बिरामी परेपछि कार्यक्रम पुनः रोकिएको थियो ।

















