विद्यार्थीबीच झगडा हुँदा राक्सिराङको एक विद्यालय बन्द

मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिकाको एक विद्यालयमा विद्यार्थीहरुको दुई समूहबीच झगडा भएपछि विद्यालयको पठनपाठन नै बन्द गरिएको छ ।

मंगलबार बिहान राक्सिराङ–८, देवीटारमा रहेको श्री माध्यामिक विद्यालयमा कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीबीच सामुहिक झगडा भएको थियो । झगडामा परेर २ जना विद्यार्थी घाइते भएको र अन्य केहीलाई सामन्य चोट लागेको प्रहरीले जनाएको छ ।

घाइतेहरुको भरतपुर र हेटौँडामा उपचार भइरहेको छ । झगडामा संलग्न रहेको आरोपमा ७ जना विद्यार्थीलाई ईलाका प्रहरी कार्यालय मनहरीले नियन्त्रणमा लिएको छ । उनीहरु सबै १६ वर्षभन्दा कम उमेर समूहको विद्यार्थी रहेको बताइएको छ ।

सामान्य विषयमा उत्पन्न विवादले विद्यार्थीहरुबीच हात हालहालको अवस्था सृजना भएको भन्ने जानकारीमा आएको वडा अध्यक्ष युसाई प्रजाले बताए । घाइते विद्यार्थीको अभिभावकले घटना नियोजित भएको भन्दै दोषीमाथि कडा कारबाही हुनुपर्ने माग गरेका छन् ।

विद्यार्थीहरुको समुहबीचको झगडाका कारण २ जना घाइते र केही विद्यार्थी प्रहरी नियन्त्रणमा पुगेपछि विद्यालयको पठनपाठन नै बन्द गरिएको विद्यालय प्रशासनले जनाएको छ ।

विद्यालयका प्रधनाध्यापक राम बहादुर राउतले बुधबार विद्यालय बन्द रहेको बताए । यस विषयमा एउटा निर्णयमा पुगेपछि बिहीबारबाट विद्यालय पूर्व अवस्थामा नै सञ्चालनमा आउने उनले बताए ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.