मकवानपुर । मकवानपुरमा आज साँझ बस ब्रेक फेर भएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । त्रिभुवन राजपथ सडकखण्ड अन्तर्गत मकवानपुरको थाहा नगरपालिका वडा नम्वर ३, विद्युत प्राधिकरणस्थित बा ३ ख ५९९० नं. बस ब्रेक फेल भई दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको मकवानपुर प्रहरीले जानकारी दिएको छ ।
मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालका अनुसार, आज साँझ ७ बजेको समयमा गोपाली गाँउबाट थानाबजारतर्फ जाँदै गरेको बा ३ ख ५९९० नं. बस ब्रेक फेल भई थाहा नगरपालिकाको उप–मेयर भरत गोपालीको घर भित्र बस पस्न गई दुर्घटना भएको हो ।
उक्त बसको ठक्करबाट अन्दाजी ४० वर्षीय कृष्ण बलामी र अन्दाजी ३५ वर्षीय लोकेन्द्र ठाकुरको मृत्यु भएको प्रहरी नायव उपरीक्षक अर्यालले बताए । बसको ठक्करबाट गम्भीर घाइते भएका दुबै जनाको प्राथमिक स्वास्थ्य केन्द्र पालुङमा उपचारको क्रममा मृत्यु भएको प्रहरी नायव उपरीक्षक अर्यालले बताए । हाल ठेगाना नखुलेका उनीहरुको शब प्राथमिक स्वास्थ्य केन्द्र पालुङमा राखिइएको छ ।
यस्तै, उक्त दुर्घटनामा परेर हाल ठेगाना नखुलेका अन्दाजी ३६ वर्षीय रघुनन्दन यादव, कमलेश कुमार साह, बाराको जितपुर–सिमरा उपमहानगरपालिका वडा नम्वर १७ बस्ने ३२ वर्षीय छेयाङ दोर्ज लामा र बाराको कोल्बि नगरपालिका वडा नम्वर १ बस्ने ३० वर्षीय रामगुलाम चौधरी घाइते भएका छन् ।
घाइतेमध्ये रघुनन्दन र कमलेश कुमार साहको अवस्थामा गम्भीर रहेको छ । उनीहरुलाई उपचारको लागि काठमाडौं को ट्रमा सेन्टर तर्फ पठाइएको छ भने अर्का घाइते छेयाङ दोर्ज लामा र रामगुलाम चौधरीको प्राथमिक स्वास्थ्य केन्द्र पालुङ मकवानपुरमा उपचार भइरहेको प्रहरी नायव उपरीक्षक अर्यालले बताए ।
दुर्घटनाबारे थाहा हुनेवित्तिकै इलाका प्रहरी कार्यालय पालुङबाट प्रहरी निरीक्षक सबिन बाबु अर्यालको कमाण्डमा टोली खटिएको र बस चालक मकवानपुरको थाहा नगरपालिका वडा नम्वर ५, बसन्त बस्ने २९ वर्षीय राजेश कार्कीलाई नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरी नायव उपरीक्षक अर्यालले बताए ।

















