हेटौंडा । मकवानपुरको राक्सिराङ गाउँपालिकामा खानीको विषयलाई लिएर विवाद चुलिएको छ । खानीबाट आफूहरु प्रभावित भएको भन्दै स्थानीय खानी उत्खनन् कम्पनी ऋद्धिसिद्धी सिमेन्ट उद्योग प्रालि विरुद्ध आन्दोलित भएका छन् ।
गत चैत्र २९ गते राक्सिराङ ४ नम्बर वडाका खानी प्रभावितले बनाएको किन्दुराङ खानी प्रभावित क्षेत्र संरक्षण समितिले जिल्ला प्रशासन कार्यालय मकवानपुर र उत्खनन कम्पनी ऋद्धिसिद्धी सिमेन्ट उद्योग प्रालिलाई समस्याको समाधानको माग गर्दै ७ दिने अल्टिमेटमसहितको ज्ञापनपत्र बुझाएका थिए । समितिका अध्यक्ष भीमलाल थिङले उक्त अल्टिमेटमको कुनै सुनुवाई नभएको बताए । ढुंगा खानी उत्खनन् तथा ओसारपसार समेत गर्दा सो ठाउँमा प्रत्यक्ष असर पर्न गएकोले समस्या समाधानका लागि ५ बुँदे मागसहित ज्ञापनपत्र बुझाइएको उनले बताए ।
स्थानीयले वातावरण विनास रोक्नुपर्ने, उद्योगको गाडी चल्दा हुने धुलो नियन्त्रण गर्न पानी हाल्नुपर्ने, उद्योगले सार्वजानिक बाटोबाट मात्र गाडी चलाउनुपर्ने, बलजफती स्थानीयको जग्गाबाट गाडी चलाउन नपाइने, खानी प्रभावित क्षेत्रको जग्गाको सम्बन्धित जग्गाधनी संगै स्थानीय प्रचलित मूल्यमा उद्योगले जग्गा खरिद गर्नु पर्ने, जग्गा खरिदबिक्रीमा विचौलिया प्रयोग गर्ने गरेकोले त्यसलाई बन्द गर्न माग गरिएको छ । उद्योग तर्फबाट प्रत्यक्ष रुपमा जग्गा धनीसंगै समझदारी कायम गर्दै प्रचलित मूल्यमा जग्गा खरिद गर्नुपर्ने, समस्या समाधानका लागि स्थानीयासँग तत्कालै छलफल गरी निस्कर्षमा पुग्नुपर्ने र स्थानीयलाई उद्योगमा रोजगारी दिनुपर्ने लगायतको माग राखिएको छ ।
ज्ञापन पत्र बुझाइएको ९ दिन बित्दा पनि आफ्नो माग सम्बोधन नभएको भन्दै आइतबार स्थानीयले कम्पनीको ढुवानीमा रोक लगाएका छन् । माग पूरा नहुञ्जेल आन्दोलन जारी रहने स्थानीय विश्वराज थिङले बताए । उनले जस्तोसुकै परिस्थिति आएपनि आफूहरु सामना गर्न तयार रहेको र माग पूरा नभएसम्म संघर्ष गरिरहने बताए । स्थानीय सरकार समेत पीडितको पक्षमा नबोली मौन बसेको उनले आरोप लगाए ।
‘हामीले हाम्रो वन जंगल, पशु चौपाया चरण क्षेत्र, पानीको मुहान र घरबारी भन्न पाएका छैनौं, कतिबेला खानीको ढुंगा र धुवाँ धुलोले ज्यान लिन्छ थाहा छैन्’, थिङले भने, ‘खानीका कारण यहाँको बस्ती र विद्यालय विस्थापित भयो, हाम्रो बालबालिका पढ्न पाएनन् । अन्त पढ्न जानलाई २ घण्टा लाग्छ, माथि डाँडाबाट बोलेर जत्रो ढुंगा खस्छ हाम्रो बच्चाको ज्यानको सुरक्षा समेत छैन । स्थानीय सरकार मौन छ । हामी अन्यायमा पर्यौं ।’

















