मकवानपुर । मकवानपुर प्रहरीले अवैध लागूऔषधसहित बुधबार मनहरी गाउँपालिका वडा नं. ६ नयाँवस्ति स्थित ब्रमादेवी सामुदायीक बन भित्र एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जिल्लाको मनहरी गाउँपालिका वडा नं. ६ सुनाचुरी बस्ने अन्दाजी ५० वर्षीय बाबुराम मुक्तान रहेको मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।
उनलाई इलाका प्रहरी कार्यालय मनहरी मकवानपुरबाट खटिएको प्रहरी टोलीले ५२ किलो लागूऔषध गांजासहित पक्राउ गरेको हो ।
प्रहरी नायव उपरीक्षक अर्यालका अनुसार, हिजो बुधबार वैशाख ३ गते राति साढे ९ बजेको समयमा रुपाचुरीबाट नयाँ बस्तितर्फ लागूऔषध गाँजाको भारी बोकि पैदल आउँदै गरेको छ भन्ने विशेष सूचनाको आधारमा पुगेको टोली उक्त परिणामको गाँजा बरामद भएपछि निजलाई पक्राउ गरिएको हो ।
लागूऔषधसहित पक्राउ परेका उनलाई लागुऔषध कसुर मुद्धामा मकवानपुर जिल्ला अदालत हेटौंडाबाट ७ दिनको म्याद अनुमती लिई थप अनुसन्धान कार्य अगाडि बढाएको प्रहरी नायव उपरीक्षक अर्यालले बताए ।

















