मकवानपुर । नेपाल पत्रकार महासंघ मकवानपुरले आयोजना गरेको स्वास्थ्य जाँच शिविरमा ५१ जनाले स्वास्थ्य परिक्षण गराएका छन् । महासंघले ७० औं स्थापना दिवसको अवसरमा आयोजना गरेको शिविरमा ५१ जनाले परीक्षण गराएका हुन् ।
महासंघले नेपाल पत्रकार महासंघ, बागमती प्रदेशको समन्वयमा नसर्ने रोगहरुको परीक्षण तथा स्वास्थ्य प्रवद्धन कार्यक्रम आयोजना गरेको हो । जनस्वास्थ्य कार्यालय मकवानपुर र हेटौंडा उपमहानगरपालिका, जनस्वास्थ्य शाखाको सहयोगमा शिविर भएको हो ।
हेटौंडा–४ स्थित नेपाल पत्रकार महासंघ मकवानपुरको कार्यालय परिसरमा आयोजित शिविरमा बडी मास इन्डेक्स बीएमआई, मधुमेह परीक्षण, पाठेघरको मुखको जाँच, रक्तचाप जाँच र मृगौला सम्बन्धी जाँच गरिएको थियो । शिविरमा सञ्चारकर्मीका साथै परिवारका सदस्यले पनि स्वास्थ्य जाँच गराएका थिए।
यसअघि चैत्र १७ गते स्थापना दिवसका दिन स्वास्थ्य शिविर राख्ने भनिएतापनि चैत्र १५ गते राजावादीहरुको आन्दोलमा पत्रकार सुरेश रजकको मृत्यु भएपछि कार्यक्रम स्थगित गरिएको थियो ।

















