हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–८ बैदमारस्थित भित्री सडकखण्डमा गएराति फास्ट ट्र्याक आयोजनामा प्रयोग हुने गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
दुर्घटनामा फास्ट ट्र्याकमा कार्यरत बारा पचरौता नगरपालिका–७ निवासी २१ वर्षीय इञ्जिनियर सूर्य यादव र चालक सिन्धुलीको कमलामाई नगरपालिका–९ भिमानका ४२ वर्षीय बोधराज बुढाथोकीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
प्रहरीका अनुसार, बागमती प्रदेश ०१–०३३ च २१४४ नम्बरको योद्धा पिकअप माण्डु हाइड्रोपावरको बाटो हुँदै इपा जाँदै गर्दा अनियन्त्रित भई सडकबाट करिब १०० फिट तल खोलामा खसेको थियो। दुर्घटनापछि प्रहरी र नेपाली सेनाको टोलीले घाइते दुवै जनालाई उद्धार गरी हेटौँडा अस्पताल पुर्याएको थियो।
उनीहरुको उपचारका क्रममा चिकित्सकले आज बिहान उनीहरूलाई मृत घोषणा गरेका हुन्। मृतक दुबै जनाको शव सोही अस्पतालमा रहेको र आफन्तलाई जानकारी गराएको जनाइएको छ ।
पछिल्लो समय दुर्घटनाका घटना बढ्दै गएको भन्दै प्रहरीले सवारी सुरक्षामा विशेष ध्यान दिन, सावधानीपूर्वक यात्रा गर्न तथा रातिको समयमा सकेसम्म यात्रा नगर्न सर्वसाधारणलाई अनुरोध गरेको छ।















