हेटौंडा । सञ्चारिका समुह नेपाल मकवानपुरले ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवस अन्तरक्रिया कार्यक्रमको आयोजना गरी मनाएको छ । ‘सबै महिला तथा बालिकाको लागि’ अधिकार, समानता र सशक्तीकरण’ भन्ने मूल नाराका साथ सामाजिक रुपान्तरणमा महिला पत्रकारको भुमिका , चुनौती र अवरसर विषयक अन्तरक्रिया कार्यक्रम गरी मनाएको हो ।
सञ्चारिका समुह नेपाल मकवानपुरकी अध्यक्ष निशा गुरुङको सभाध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मिना कुमारी लामाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख लामाले समाज परिवर्तनका निम्ति महिला पत्रकारको ठुलो योगदान रहेको बताईन् ।
उनले सामाजिक, आर्थिक, राजनीतिक रूपान्तरणका लागि महिला पुरुषबिच समान अधिकार हुनुपर्ने बताईन् । प्रमुख लामाले आफ्नो हक अधिकारका लागि महिलाहरू एकताबद्ध भए लड्नुपर्ने जिकिर गरे । कार्यक्रममा सञ्चारिका समुह नेपाल बागमती प्रदेशकी अध्यक्ष एवम् प्रेस चौतारी नेपाल मकवानपुरकी अध्यक्ष सरिता दाहाल , पत्रकार महासंघ बागमती प्रदेशकी निवर्तमान उपाध्यक्ष सम्झना कार्की र पत्रकार महासंघ मकवानपुरकी उपाध्यक्ष भावना रिजालले सामाजिक रुपान्तरणमा महिला पत्रकारको भुमिका , चुनौती र अवसर विषयक शिर्षकमा प्रस्तुतीकरण दिएका थिए ।
अन्तरक्रिया कार्यक्रममा सञ्चारिका समुह मकवानपुरकी उपाध्यक्ष जमुना थिङले मकवानपुर जिल्लामा महिला पत्रकारको अवस्थाको विषयमा अध्ययन प्रतिवेदन प्रस्तुत गरेकी थिईन् । साथै कार्यक्रममा औषधि व्यवसायी संघ मकवानपुरले २ सय पिस सेनेटरी प्याड वितरण गरिएको थियो । संघका अध्यक्ष नाराण लाल श्रेष्ठले महिला पत्रकारहरुका लागि हरेक महिना सेनेटरी प्याड सहयोग गर्ने पनि प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा पत्रकार महासंघ बागमती प्रदेशका उपाध्यक्ष हरी हुमागाई , सदस्य उज्वल अधिकारी , स्वतन्त्र पत्रकार संघका केन्द्रिय उपमहासचिव शुरेस श्रेष्ठ , प्रेस चौतारी नेपाल बागमती प्रदेशकी सदस्य सुनिता विष्ट , प्रेस युनियन मकवानपुरका अध्यक्ष सुवास विडारी , प्रेस सेन्टर नेपाल मकवानपुरका अध्यक्ष एम्पी शर्मा लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
सन् १९७५ देखि संयुक्त राष्ट्रसङ्घले नारी दिवस मनाउन थालेको हो । पहिलो नारी दिवसको नारा ‘विगतलाई उत्सवको रूपमा मनाउने र भविष्यको योजना बनाउने’ तय गरिएको थियो । सन् १९०८ को मार्च ८ मा अमेरिकामा १५ हजार बढी महिलाले दैनिक काम गर्ने समय घटाउनुपर्ने, राम्रो तलब पाउनुपर्ने र मतदानको अधिकार दिनुपर्ने माग राख्दै प्रदर्शन गरेका थिए । महिला हक र अधिकारको माग सारेर महिलाले नै सङ्घर्ष सुरु गरेको दिनको स्मरणमा यो दिवस मनाइन्छ ।

















