‘रजैयाको तटबन्धन र पार्किङको बिषयमा झुटा कुराको पछि नलागौं’

हेटौंडा । मनहरी गाउँपालिका ९ रजैयाको बस्तीलाई जोगाउने उद्देश्यका साथ निर्माण भैरहेको तटबन्धन र पार्किङ क्षेत्रको विषयमा अनावश्यक भ्रम फैलाउन खोजिएपछि गाउँपालिका अध्यक्ष रञ्जन कालाखेती र ९ नम्बर वडा अध्यक्ष राजकुमार श्रेष्ठले स्थानीयसँग निर्माणस्थलमै छलफल गरेका छन् । काम भैरहेको स्थानमै रजैयाका सर्वसाधारणलाई बोलाएर उनीहरुले स्थानीयको धारणा लिनुका साथै सामाजिक सञ्जालमा आइरहेको विषयको जवाफ दिएका हुन् ।

रजैया बस्ती बचाउ अभियान अन्तर्गत चोकदेखिको खोला किनारमा तटबन्धन र बिग बोल्डर (ठूल्ठूला ढुंगा) राख्ने काम भैरहेको छ । यसै विषयलाई लिएर केहीले सामाजिक सञ्जाल फेसबुकमा गाउँपालिका अध्यक्षको मेसिन र टिपर प्रयोग गर्नका लागि योजना हालेको भन्दै विरोध जनाएपछि पालिका अध्यक्ष र वडा अध्यक्षले रजैयाबासीसँग छलफल गरेका हुन् । कार्यक्रममा ९ नम्बर वडा सदस्य पर्वदेव अधिकारीले मिडियालाई गलत सूचना दिने र सामाजिक सञ्जालमा अनावश्यक कुरा लेख्नेहरुका कारण काम गर्न असहज भएको बताए ।

वडा अध्यक्ष राजकुमार श्रेष्ठले स्टमेटमा उल्लेख भन्दा बढी काम भएको दावी गर्दै गाउँपालिका अध्यक्षको मेसिन र टिपर चलाउनका लागि योजना नहालिएको प्रष्ट पारे । ‘हामीले स्थानीयको मागकै आधारमा कार्यपालिकाबाट निर्णय गरेर रजैया बस्ती बचाउका लागि तटबन्धन र पार्किङ व्यवस्थित गर्ने काम गरिरहेका हौं’, वडा अध्यक्ष श्रेष्ठले भने, ‘तर केही व्यक्तिले सामाजिक सञ्जालमा अफवाह फैलाउँदै झुटा विषय लेख्नुका साथै केही मिडियाले समेत एकतर्फी मिथ्या सूचना दिएर समाचार बनाएपछि हामी तपाइँहरुको माझमा आएका हौं ।’ गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीले टहरा हटाएको स्थानमा पार्किङ क्षेत्र र रजैयालाई जोगाउन तटबन्धनका लागि कार्यपालिका बैठकले निर्णय गरेर बजेट विनियोजन गरिएको बताए ।

समितिले हुलियतमा माटो फिलिङको काम गरिदिन अनुरोध गरेपछि मेसिन पठाएको जानकारी दिँदै उनले अरुले भन्दा निकै कम रकममा काम भएको दावी गरे । गाउँपालिका अध्यक्षको मेसिन प्रयोग गरेवापत बचेको रकमबाट समितिले बोल्डर हाल्ने काम गरिरहेको निर्माण समितिका अध्यक्ष राजकुमार विश्वकर्माले बताए । यसबाट रजैया बस्ती नै बच्ने उनको दावी छ । बिग बोल्डर हाल्ने काम स्टमेटमा नभएपनि बचेको रकमले बस्ती बचाउन यसो गरिएको उनले बताए । तटबन्धनबाट करिब एकहजार घरधुरी लाभान्वित हुनेछन् भने व्यवस्थित पार्किङबाट दुर्घटनाको जोखिम समेत घट्ने स्थानीयले जानकारी दिएका छन् ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.