सरकारी स्वमित्वको हेटौंडा सिमेन्ट उद्योग धरासायी बन्दै गएको छ । पुराना औजार, आर्थिक मन्दी, कर्मचारी र प्रविधि अभावका कारण उद्योग चलायमान हुन सकेको छैन । पछिल्ला दिनमा उद्योग सञ्चालनमा ल्याउन निकै कठिन बनेको छ । वार्षिक रुपमा उद्योग मुस्किलले ३/४ महिना मात्र चल्छ । अन्य समयमा उद्योग बन्द हुने गरेको छ । उद्योग बन्द हुँदा करोडौं रकम घाटा व्यहोर्नुपर्ने बाध्यता त छँदैछ, त्यसमाथि उद्योगको दैनिक खर्च, कर्मचारीको तलव भत्ता र मेसिनरी औजारको मर्मत सम्भारको दायित्व पनि बढ्दो छ । उद्योगमा समस्या नहुँदा समेत सञ्चालनका लागि कठिनाइ परिरहेको छ । उद्योग सञ्चालनका योजना, समस्या लगायतका विषयमा हेटौंडा सिमेण्ट उद्योगका अध्यक्ष नरेन्द्र भण्डारीसँग सहकर्मी निसा गुरुङले गरेको कुराकानी:
हेटौँडा सिमेन्ट उद्योगको पछिल्लो अवस्था के छ ?
बिगतदेखि नै हेटौंडा सिमेन्ट उद्योगको अवस्था बिग्रिँदै गएको थियो भने अहिले झन् आर्थिक रुपको चरण अभाव छ । उत्पादन पनि गर्न नसकिरहेको अवस्था छ ।
निजी उद्योगहरु फस्टाका छन् । तर सरकारी स्वामित्वमा रहेको हेटौंडा सिमेन्ट उद्योग सँधै किन घाटामा गइरहन्छ ?
निजी उद्योग र हेटौंडा सिमेन्ट उद्योगको कुरा गर्ने हो भने हाम्रो हेटौंडा सिमेन्ट उद्योग ३२ सालदेखि निर्माण सुरु भएर ४२ सालदेखि उत्पादन सुरु गरिएको थियो । झण्डै ४० वर्षदेखि उत्पादन दिइरहेको उद्योग हो । यसको मेसिनरी पार्टपुर्जाहरु सबै पुराना भइसकेको छ । त्यसकारण अहिले आएको नयाँ टेक्नोलोजीसँग प्रतिप्रस्र्धा गर्न सकिने अवस्था छैन । अर्को कुरा भनेको निरन्तरण मेसिनरी सामानहरु बिग्रिरहने र उत्पादन कमहुने अवस्थाले गर्दा ५/६ वर्षदेखि निरन्तर घाटा गयो । निरन्तर घाटाले गर्दा नै दायित्वहरु सिर्जना हुन थाल्यो र उत्पादन गर्ने क्षमतामा समेत ह्रास हुँदै गएपछि हामी घाटामा पुगेका छौं ।
हालसम्म उद्योग कति घाटामा पुग्यो ? उद्योगमा कच्चा पदार्थ खरिद गर्न नसकिएको हो ?
एक वर्षमा १५ देखि २० करोड घाटामा हुन थालेको ५÷६ वर्षै भईसकेको छ । म अध्यक्ष भएर आएको भर्खर ८ महिना भयो । अब अहिले कच्चा पदार्थ किन्नै नसकिने अवस्था भनेको हिजो दायित्वहरु सिर्जना भएको पैसा नै हामीले तिर्न नसकेको ६० करोड भन्दा माथि गइसकेको छ । कच्चा पदार्थमा त्यहि भएर यो समस्या आएको हो । त्यहि पनि हामिले आन्तरिक स्रोतमा ४ करोड जति पैसा कच्चा पदार्थकै लागि व्यवस्थापन गरेका छौं । त्यो चाँही हामीले अन्य कुनै काममा लगानी गर्न नपाइने भनेर सञ्चालक समितिले निर्णय गरिसकेका छौं । अहिलेको अवस्थामा कच्चा पदार्थको कारणले मात्रै उद्योग नचलेको होइन ।
तपाई हेटौंडा सिमेन्ट उद्योगको अध्यक्ष बनिरहँदा अब परिवर्तन हुन्छ भन्ने एउटा आशा थियो । सरकार आफ्नै, मन्त्री पनि आफ्नै तर त्यो आशा निराशामा परिवर्तन भयो नि ? आफ्नै पार्टीले पनि सहयोग नगरेको हो ?
त्यस्तो पनि छैन । सहयोग नगरेको हो भन्ने अवस्था पनि होइन । अहिले देख्दा सहयोग नगरेको जस्तो देखिन्छ । तर त्यस्तो छैन । हामी निरन्तर सरकारसँग हाम्रा विषयहरु उठान गरिरहेका छौं । अहिले भर्खर पनि एउटा विद्येयक आएको छ । सार्वजनिक संस्थान संरक्षण विद्येयक आएको छ । त्यस्ले पनि कँही न कँही हेटौंडा सिमेन्टलाई समेट्नेगरी आएको विद्येयक हो भने सरकारसँग अहिले हेटौंडा सिमेन्ट लगायत ९ वटा संस्थानहरु छ । त्यसमा विशेषगरी उदयपुर सिमेन्ट छ । हेटौंडा सिमेन्टको विषयमा के छ भने यसलाई दीर्घकालीन रुपमा र अल्पकालिन रुपमा सबै संस्थानहरु घाटामा जाने यस्को व्यवस्थापन साथै हेर्ने यसको पोलिसीलगायत या धेरै कारणले पुराना मेसिनरी र घाटामा सँधै गइरहेको अवस्थामा सरकारले यसलाई स्वामित्व लिने की नलिने भन्ने हिसाबमा दीर्घकालीन रुपमा यस्को समाधान निकाल्नुपर्छ भनेर सरकारले अहिले सार्वजनिक प्रतिष्ठान व्यवस्थान अध्यादेश ल्याएको छ । संविधानमै सार्वजनिक संस्थानहरु जे चलिरहेको छ त्यसमै चलाउने होकी फरक मोडलमा चलाउने भन्ने विषयमा सरकार लागेको हुनाले तत्काल हामीलाई राहत उपलब्ध गराउन नसकेको होकी भन्ने लाग्छ । तर पनि हामी हात बाँधेर बसेका छैनौं । यही २६/२७ गते अर्थमन्त्री र उद्योगमन्त्रीज्यूसँग भेटेर छलफल गर्ने तयारी पनि छ ।
अब उद्योग सञ्चालनमा आउँछ की आउँदैन ? आउँछ भने कसरी आउँछ ? कसरी सन्चालन हुन्छ योजना के छ ? कपडा उद्योग जस्तै हेटौंडा सिमेन्ट पनि अब सँधैका लागि बन्द हुने अवस्थामा हो ?
हेटौंडा सिमेन्ट सञ्चालनका लागि त अहिले धेरै माथि ताकिरहनु पर्नेछैन । अल्पकालीन रुपमा चल्नलाई अहिलेको समस्या भनेको उद्योग क्षेत्रमा लोडसेडिङ छ । लोडसेडिङ भएको कारणले हामीले चलाउन नसकेको हो । त्यसका लागि हामीले प्राधिकरणका सिईयो कुलमान घिसिङसँगै बसेर आग्रह गरिसकेका छौं । उहाँले कार्यान्वय गर्ने तहमा हाम्रै अगाडी निर्देशन दिनुभइसकेको छ । यो विद्युत प्राद्यिकरणको जुन लोडसेडिङको समस्या छ । त्यो समस्या समाधान भयो भने अहिले डेढ दुई लाख बोरा सिमेन्ट उत्पादन गर्न आवश्यक पर्ने कच्चा पदार्र्थहरु हामीसँग छ । यही बीचमा हामीले ओखरे खानी सञ्चालनको तयारी गरेका छौं । एकहप्तभित्रै ओखरे खानीबाट चुनढुंगा पनि आउँछ होला । ढुंगा नआएपनि डेढ दुई महिना सञ्चालन गर्न त्यति धेरै समस्या छैन । समस्या भनेको कोइलाको हो । १०/१५ दिन चल्ने कोइला छ । त्यसलाई तीन महिना चल्न सक्ने कोइला जोगाड गरेर उद्योग चलाउने तयारीमा छौं । मर्मतका कारणले बीचमा उत्पादन रोकिएको हो ।
अहिले सप्लायर्स र अवकाश प्राप्त कर्मचारीहरुको भुक्तानी हुन सकेको छैन भन्ने गुनासो आइरहेको छ। त्यस्को समाधान चाँही कसरी हुन्छ ?
सप्लायर्सका दायित्व र अवकाश प्राप्त कर्मचारीहरुका दायित्वको विषयमा हामीले सरकारसँग डेढ अर्व ऋण दिन प्रपोजलहरु पनि पेश गरेका छौं । तर राज्यको सबै दायित्वहरु पूरा गर्ने या उद्योगलाई फरक मोडलबाट चलाउने भन्ने विषयमा छलफल भइरहेको छ । त्यसमा केही न केहि निस्कर्ष निस्केला भन्ने अपेक्षा गरेका छौं ।
हवस् यहाँको महत्वपूर्ण समय र विचारका निम्ति धेरै धन्यवाद ।
मलाई पनि हेटौंडा सिमेण्ट उद्योगको अवस्था, समस्या र समाधानका लागि गरिएका प्रयासका विषयमा जानकारी राख्ने मौका दिनुभएकोमा प्रदेश दैनिक र निसाजीलाई धन्यवाद ज्ञापन गर्न चाहन्छु । धन्यवाद, नमस्कार ।

















