हेटौंडा । दुधौली नगर अस्पताल सिर्थौलीलाई नगर अस्पताल बनाउनका लागि प्रदेश स्वास्थ्य मन्त्रालयले अस्पतालको अवलोकनसँगै प्रशासनसँग अन्तरकृया गरेको छ । विहीबार बागमती प्रदेश सरकार उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्री शूक माया तामाङको सहजीकरणमा मन्त्रीको विज्ञ सल्लाहकार तारानिधि पोखरेल सहित स्वास्थ्य मन्त्रालयको अस्पताल स्तरोन्नति गर्न गठित कार्यदलको टोली अस्पताल पुगेको हो ।
सर्पदंश प्रभावित क्षेत्र भएको, मदन भण्डारी राजमार्गको छेउ भएको कारण सडक दुर्घटनाका घाइतेको चाप, ठूलो क्षेत्र र बाक्लो बस्ती भएको हुँदा बिरामी संख्या धेरै भएकाले दुधौली नगर अस्पताललाई प्रादेशिक अस्पतालमा स्तरोन्नति गर्न आवश्यक अन्तरकृयामा सहभागी सरोकारवालाहरुले बताएका थिए ।
अस्पताल स्तरोन्नति गर्न गठित कार्यदलका सदस्य सचिव डा.खगेश्वर गेलालको नेतृत्वमा दुधौली नगर अस्पताल पुगेको बागमती प्रदेश स्वास्थ्य मन्त्री किरण थापामगरले जानकारी दिनुभयो । उहाँले भन्नु भयो हामी ग्रामिण क्षेत्रको स्वास्थ्य सुधारमा लागेका छौँ । बागमती प्रदेशका केहि जिल्लाका अस्पतालमा विरामीको चाँप धेरै छ तर जनशक्ती कम छ ति अस्पलातलाई प्रदेशको मातहतमा ल्याएर हामी स्तरउन्नती गर्ने छौँ मन्त्री थापाले भन्नु भयो । चालु आर्थिक वर्षको बजेट बक्तव्यमा प्रदेश सरकारले नगर अस्पताललाई प्रदेशिक अस्पतालमा स्तरउन्नती गर्ने घोषणा गरेको थियो ।
अस्पताल स्तरोन्नति गर्न गठित कार्यदलका टोलीले अस्पतालमा पुगेर दुधौली नगरपालिकाका उपप्रमुख चन्द्रकिशोर थारु , वडा न ५ का वडा अध्यक्ष यदु प्रसाद काफ्ले, वडा न १० का वडा अध्यक्ष कुमार शर्मा, वडा न ९ का वडा अध्यक्ष देवप्रसाद अधिकारी, अस्पतालका फोकल पर्सन अर्जुन कार्कीसँगै अस्पताल प्रशासनसँग अन्तरक्रिया गरेको छ । सिन्धुलीको पूर्वी भेगका स्थानिय अस्पताल स्तरउन्नति गर्न गठित कार्यदलले यहाँको स्वास्थ्यको समस्या बुझ्ने आशा गरेका छन्।

















