हेटौंडा । मकवानपुरको मनहरीमा बाघको आक्रमणबाट एकजना महिलाको मृत्यु भएको छ। आइतबार दिउँसो ०४:०० बजे घाँस काट्न गएकी मनहरी- ५, बसन्तपुर स्थित वडा कार्यालय नजिकैकी अन्दाजी ७२ वर्षीय कान्छिमाया रुम्बाको जंगली जनावर बाघको आक्रमणबाट मृत्यु भएको हुन सक्ने आशंका गरिएको हो।
मृतक रुम्बा स्थानीय धन बहादुर रुम्बाकी श्रीमती हुन्। घर नजिकै बारीमा घाँस काट्न गएकी उनी अबेर सम्म घर नआएपछि आफन्तले खोजी गर्दै जाने क्रममा आफ्नो घरबाट अन्दाजी ५ सय मिटर पुर्व हेटौडा ५ का किशोर बर्तौलाको बारीमा शरिरको विभिन्न भागमा चोट लागी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
राती ९ :४५ बजेको समयमा प्रहरीलाई खबर प्राप्त हुनासाथ प्र. ना.नि. दिलिप पासवानको कमाण्डमा टोली खटि गई घटनास्थल सुरक्षित राखेको प्रहरीले जनाएको छ ।
घटनाको प्रकृति हेर्दा जंगली जनावर बाघको आक्रमणबाट मृत्यु भएको जस्तो देखीने प्रहरी आशंका गरेको छ। यस्तै, प्रहरीका अनुसार थप अनुसन्धान तथा मुचुल्काको लागी जिप्रका मकवानपुरबाट प्रहरी निरीक्षक ठाकुर प्रसाद सापकोटाको कमाण्डमा टोली गएको छ।
उक्त घटनास्थल इलाका प्रहरी कार्यालय नेवारपानी मकवानपुरबाट अन्दाजी ८ कि.मि. पश्चिम र जिप्रका मकवानपुरबाट अन्दाजी २५ कि.मि. पश्चितम पर्ने प्रहरीको भनाई छ।

















