मउवा संघ चुनाव: अध्यक्षमा २ जना आकांक्षी 

हेटौंडा । मकवानपुर उद्योग बाणिज्य संघमा चुनावी सरगर्मी बढेको छ । यही पुष २४ देखि २७ गतेसम्म हेटौंडामा हुन लागेको मकवानपुर उद्योग वाणिज्य संघको साधारणसभा तथा निर्वाचनबाट नेतृत्व लिनका लागि दुईजनाले आकांक्षीले उम्मेदवारी घोषणा गरेका छन् ।

हालसम्म वर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्ष अनिल अग्रवाल र उद्योगतर्फका उपाध्यक्ष प्रमोदसिंह रानाभाटले औपचारिक रुपमा उम्मेदवारी घोषणा गर्दै चुनावी मैदानमा होमिएका छन् । मतदाता समक्ष भोट माग्न पुगिरहेका अध्यक्षका आकांक्षीहरुले अन्य पदको उम्मेदवार समेत तानातान गरिरहेका छन् । मतदातासंग राम्रो सम्बन्ध भएका जित्न सक्ने र चर्चित अनुहारलाई दुवै पक्षले आफ्नो टिममा रहन आग्रह गरिरहेका छन् ।

‘अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका अग्रवाल र रानाभाट दुवैले जित्न सक्ने र टिमलाई समेत भोट बढाउन सक्ने मुहारलाई आफ्नो टिममा समेट्न खोजिरहेका छन्’, संघका एक पदाधिकारीले भने, ‘को कति बेला कुन टिमको उम्मेदवार बन्छ ठेगान छैन ।’ यही कारण अध्यक्षका आकांक्षीहरुले प्यानल समेत घोषणा गर्न नसकेको ती पदाधिकारीको भनाई छ । अहिलेसम्म वाणिज्यतर्फको उपाध्यक्षमा राजु अधिकारी र रामप्रसाद न्यौपानेले उम्मेदवारी घोषणा गरेका छन् ।

उद्योगतर्फको उपाध्यक्ष पदमा रविन्द्र घिमिरे र दीपक उप्रेती, वस्तुगत तर्फको उपाध्यक्षमा प्रदीप अर्याल र काव्यमणि अधिकारी, एशोसियटतर्फको उपाध्यक्षमा उज्वल चौलागाईं र विष्णु खनाल, महासचिवमा प्रतिमा श्रेष्ठ र विकेशलाल श्रेष्ठ, वाणिज्यतर्फको सचिवमा कुलप्रसाद चौलागाईं र दिवस पराजुली, वस्तुगततर्फ नेत्रप्रसाद खतिवडा र राजाराम कार्की, उद्योगतर्फ रुपकराज दाहालको चर्चा रहँदा एशोसियटतर्फ ‘पर्ख र हेर’ को अवस्था रहेको छ ।

कोषाध्यक्ष पदमा तीनजनाले उम्मेदवारी घोषणा गरेका छन् । जसमा श्रीकृष्ण कर्माचार्य, तेजराज अधिकारी र रवि कंडेल शर्मा रहेका छन् । सहकोषाध्यक्ष पदमा निलम बैद्यसहित केहीको चर्चा रहेको छ । संघमा सहकोषाध्यक्ष महिला हुने प्रावधान रहेको छ । अध्यक्षमा उम्मेदवारी घोषणा गरेका दुवैजना नेपाली कांग्रेस निकटका हुन् । दुवैले नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा, राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका दल निकट रहेका उद्योगी व्यवसायीलाई लिएर टिम बनाउने तयारी गरेका छन् ।

हाल मकवानपुर उद्योग वाणिज्य संघमा २ हजार ९७ जना मतदाता रहेका छन् । २४ गते हुने साधारणभा नेपाली कांग्रेसका केन्द्रीय सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने बताइएको छ । मउवा संघको कार्यसमितिको कार्यकाल ३ वर्षको हुनेछ । आफ्नो पक्षमा माहौल बनाउन र मतदाता समक्ष आफ्नो एजेण्डा प्रश्तुत गर्न सबै उम्मेदवारहरु आन्तरिक रुपमा लागिपरेका छन् ।

 

 

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.