हेटौंडा । उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयको मातहतमा रहेको चितवन उद्योग तथा वाणिज्य कार्यालयको नवनिर्मित भवनको उद्घाटनसँगै एकीकृत सेवा प्रवाह कक्ष सञ्चालनमा आएको छ। बागमती प्रदेशकी उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री शुकमाया तामाङले सोमबार भवनको उद्घाटन गरेकी हुन्।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री तामाङले सेवाग्राहीलाई सहज र प्रभावकारी सेवा प्रदान गर्न निर्देशन दिइन्। उनले कार्यालयमार्फत एकद्वार प्रणालीबाट सेवा उपलब्ध गराउन समेत जोड दिइन्।
कार्यालयका प्रमुख विनोद पौडेलका अनुसार नवनिर्मित भवन सञ्चालनमा आएसँगै सेवाग्राहीलाई क्युआर कोडमार्फत राजस्व भुक्तानी, नागरिक बडापत्र, निःशुल्क वाईफाई, स्तनपान कक्षा र प्रतीक्षालय कक्षको सुविधा प्रदान गरिने जनाइएको छ ।
कार्यक्रममा प्रदेश सचिव राजेन्द्रकुमार केसिको सभाध्यक्षतामा जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायण प्रसाद अधिकारी, चितवन उद्योग संघका अध्यक्ष मदन भण्डारी लगायत अन्य विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।
यस भवन सञ्चालनले सेवा प्रवाह थप प्रभावकारी हुने अपेक्षा गरिएको छ।



















