स्रोत नखुलेको २१ लाख ४० हजार रुपैयाँसहित एमाले राक्सिराङ अध्यक्ष रुम्बा पक्राउ

हेटौंडा । मकवानपुरमा स्रोत नखुलेको २१ लाख ४० हजार रुपैयाँसहित नेकपा एमाले राक्सिराङ गाउँपालिका कमिटीका अध्यक्ष सिंहराम रुम्बासहित दुई जना पक्राउ परेका छन् । सशस्त्र प्रहरी बलको टोलीले सोमबार साँझ हेटौंडा उपमहानगरपालिका–१ चौकीटोलबाट रुम्बासहित धादिङ निलकण्ठ नगरपालिका–८ का करिब ३२ वर्षीय बिजय खातीलाई पक्राउ गरेको हो ।

वीरगन्जबाट हेटौंडातर्फ आउँदै गरेको लुम्बिनी प्रदेश ०१–००१ च ०२०९ नम्बरको इसुजु डी–म्याक्स गाडी जाँच गर्ने क्रममा गाडीभित्र कालो पोलिथिनको झोलामा लुकाइछिपाई राखिएको अवस्थामा १ हजार र ५ सय दरका नोट गरी २१ लाख ४० हजार रुपैयाँ फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

सोमबार साँझ करिब ७ः३५ बजे हेटौंडा–भीमफेदी सडकखण्डअन्तर्गत चौकीटोलमा सशस्त्र प्रहरी बल, नेपाल नं. १४ गण हेडक्वार्टर मकवानपुरबाट खटिएको मोबाइल टोलीले गाडी रोकेर जाँच गरेको थियो । प्रहरीले नगदसँगै उक्त गाडीसमेत बरामद गरेको छ । पक्राउ पर्ने खाती गाडीका चालक हुन् भने रुम्बा गाडीमा सवार थिए ।

दुवै जनालाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ अन्तर्गतको कसुरमा अनुसन्धानका लागि मकवानपुर जिल्ला अदालतबाट १५ दिनको म्याद थप अनुमति लिइएको प्रहरीले जनाएको छ । बरामद भएको रकमको स्रोत र उनीहरूको संलग्नताबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.