हेटौंडा । हेटौंडामा बिक्री वितरणका लागि लुकाएर राखिएको ३ ग्राम ८५० मिलिग्राम खैरो हिरोइनजस्तो देखिने लागुऔषधसहित एक महिला पक्राउ परेकी छन्। मकवानपुर प्रहरीले हेटौंडा उपमहानगरपालिका–५ सानोपोखराबाट ३१ वर्षीया सुष्मा तिमल्सिनालाई पक्राउ गरेको हो।
बिक्री वितरण गर्ने उद्देश्यले तिमल्सिनाले घरमा लागुऔषध लुकाएर राखेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुर र वडा प्रहरी कार्यालय सानोपोखराबाट खटिएको संयुक्त टोलीले आइतबार राति करिब १२ः१५ बजे उनको घरमा खानतलासी गरेको थियो। खानतलासीका क्रममा तिमल्सिना सुत्ने कोठामा रहेको कपडा राख्ने स्टिलको दराजमा लुकाइराखेको अवस्थामा प्लास्टिकको एक पुडिया फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
पुडियाको प्लास्टिक हटाएर शुद्ध तौल गर्दा ३ ग्राम ८५० मिलिग्राम खैरो हिरोइनजस्तो देखिने धुलो पदार्थ बरामद भएको छ। प्रहरीले उक्त पदार्थ बरामद गरी तिमल्सिनालाई नियन्त्रणमा लिएको छ। उनलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको छ।














