मकवानपुर । नेपाली काँग्रेसका निवर्तमान केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिना महाधिवेशन प्रतिनिधिमा अत्यधिक मतसहित निर्वाचित भएकी छिन् । काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत भएको मकवानपुरको संघीय निर्वाचनमा क्षेत्र नम्बर २ बाट खुलातर्फ अत्यधिक मतसहित महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएकी हुन् ।
२१ जना पुरुष उम्मेदवारसँग प्रतिस्पर्धा गरेकी उनले ८३२ मत प्राप्त गरेकी हुन् । महाधिवेशन प्रतिनिधिमा निर्वाचित गराउन मतदानसहित सहयोग गर्ने सबैमा धन्यवाद ज्ञापन गरेकी छिन् ।
काठमाडौमा सुरु हुन लागेको १५ औं महाधिवेशनमा उनको केन्द्रीय महामन्त्री वा उपसभापति पदमा उम्मेदवारी रहनसक्ने चर्चा रहेको छ । यस विषयमा प्रश्न गर्दा उनले सहमहामन्त्री भएर काम गरिसकेकोले अब त्यो भन्दा माथिल्लो पदमा उम्मेदवारी रहने प्रतिक्रिया दिइन् ।
‘सबै नेता र नेतृत्वसँग छलफल भैरहेको छ । महामन्त्री वा उपसभापति पदमा मेरो उम्मेदवारी रहनेछ’’ डिनाले भनिन्, ‘महाधिवेशन प्रतिनिधि पदमा निर्वाचित गराउन मतदान गर्ने र सहयोग गर्ने सबैमा धन्यवादसहित आभार व्यक्त गर्न चाहन्छु ।’
काँग्रेसको १४ औं महाधिवेशनबाट उनी केन्द्रीय सहमहामन्त्री पदमा निर्वाचित भएकी थिइन् । महाधिवेशन अन्तर्गत मकवानपुर क्षेत्र नम्बर २ को सभापतिमा रन्जन कालाखेती र १ को सभापतिमा सुशान्त कुमार श्रेष्ठ निर्वाचित भएका थिए ।














