हेटौंडाको जंगलमा बोराभित्र भेटिएकी महिलाको पहिचान खुल्यो, हत्याको आरोपमा एक जना पक्राउ

हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५, सेल्फी रोड नजिकैको सामुदायिक वनमा बोराभित्र फेला परेको महिलाको शव करिब दुई महिनापछि पहिचान भएको छ। डीएनए परीक्षणबाट मृतक महिला भारतकी २२ वर्षीया अफ्रिना प्रविन भन्ने रुची खातुन रहेको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ।

गत साउन २२ गते (२०८३/०४/२२) दिउँसो हेटौंडा–१५ स्थित सेल्फी रोड नजिकैको सामुदायिक वनमा महिलाको शव फेला परेको थियो। नेपाल प्रहरीको आधिकारिक अभिलेखमा शव भेटिएको समय दिउँसो १३ः५० बजे उल्लेख छ। शवको पहिचान तत्काल खुल्न नसकेपछि मकवानपुर प्रहरीले मृतकको हुलिया, पहिरन तथा शरीरमा रहेका गरगहनाको विवरण सार्वजनिक गर्दै पहिचानका लागि अपिल गरेको थियो।

प्रहरीका अनुसार मृतकको उचाइ करिब ५ फिट १ इन्च, तौल करिब ६० किलो र कपाल कालो थियो। शव फेला पर्दा उनले अगाडिको भागमा सेतो फुलबुट्टा भएको गुलाबी रंगको कुर्था, सेतो सुरुवाल तथा भित्री वस्त्र लगाएकी थिइन्।

उनको दुवै हातमा रातो र हरियो रंगका वाला, दुवै खुट्टाको बुढी औँलाको छेउको औँलामा सेतो बिछिया तथा बायाँ कानमा पहेँलो धातुजस्तो देखिने मुन्द्रा रहेको थियो। यही विवरणसहित प्रहरीले विभिन्न समयमा सामाजिक सञ्जाल तथा आफ्नो शवसम्बन्धी अभिलेखमा सूचना सार्वजनिक गरेको थियो।

मृतकको पहिचान खुलाउने क्रममा मकवानपुर प्रहरीले चितवनको भरतपुर महानगरपालिका–३, बेलचोक, नौघरे, गणेश मार्ग क्षेत्रमा अनुसन्धान अघि बढाएको थियो। अनुसन्धानका क्रममा मृतक घटना हुनुभन्दा करिब दुई महिनाअघि उक्त क्षेत्रमा कोठा भाडामा लिएर भारत घर बताउने २७ वर्षीय राहुल कुमार गुप्ता भन्ने ईश्वर कुमारसँग बस्दै आएको खुलेको प्रहरीको भनाइ छ।

सम्बन्धित घरधनीबाट प्राप्त सूचनाका आधारमा मकवानपुर प्रहरी भारततर्फ समेत समन्वय गरी अनुसन्धानमा पुगेको थियो। त्यसक्रममा मृतक भारतको बेतिया, बैरिया थाना क्षेत्रअन्तर्गत सरैया भटवलिया–६ निवासी अफ्रिना प्रविन भन्ने रुची खातुन रहेको खुलेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार रुची विवाहित थिइन्। उनी २०८३ वैशाख ९ गते श्रीमान्को घरबाट दाँतको उपचार गराउन जाने भन्दै ६ महिनाकी छोरीलाई साथमा लिएर निस्किएकी थिइन्। त्यसपछि सम्पर्कविहीन भएपछि परिवारले भारतको बेतिया प्रहरीमा खोजतलासका लागि निवेदन दिएको खुलेको छ । नेपालमा शव फेला परेको र मृतकको पहिचान खुल्ने क्रममा भारतीय प्रहरीसँग समेत समन्वय गरिएको मकवानपुर प्रहरीले जनाएको छ।

अनुसन्धानका क्रममा राहुल कुमार गुप्ता भन्ने ईश्वर कुमारको घटनामा संलग्नता रहेको खुलेको प्रहरीको दाबी छ। सोही आधारमा मृतककी आमा फातमा खातुनले भदौ ४ गते (२०८३/०५/०४) जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राहुल कुमार गुप्ता भन्ने ईश्वर कुमारविरुद्ध कर्तव्य ज्यानसम्बन्धी किटानी जाहेरी दिएकी थिइन्।

प्रहरीले अनुसन्धानका क्रममा मृतकको डीएनए नमुना र उनकी आमा फातमा खातुनको डीएनए नमुना परीक्षण गरेको थियो। परीक्षणबाट दुवैको डीएनए मेल खाएपछि मृतकको पहिचान औपचारिक रूपमा खुलेको हो।

डीएनए परीक्षणबाट पहिचान पुष्टि भएपछि मृतककी आमा फातमा खातुनले असोज १६ गते (२०८३/०६/१६) शव बुझेर लगेकी छिन्। नेपाल प्रहरीको आधिकारिक शव अभिलेखमा समेत मृतकको नाम रुची खातुन, उमेर २२ वर्ष र आमाको नाम फातमा खातुन उल्लेख छ।

प्रहरीका अनुसार घटनामा आरोपित राहुल कुमार गुप्ता भन्ने ईश्वर कुमारविरुद्ध भारतको नगर थाना, बेतियामा समेत मुद्दा दर्ता भएको छ। उनी भारतमै पक्राउ परी हाल बेतियास्थित कारागारमा थुनामा रहेको प्रहरीले जनाएको छ।

नेपालमा भने मृतककी आमाको जाहेरीका आधारमा कर्तव्य ज्यानसम्बन्धी मुद्दामा अनुसन्धान अघि बढिरहेको छ। हेटौंडाको जंगलमा पहिचान नखुलेको अवस्थामा भेटिएको शवको पहिचान गर्न प्रहरीले सार्वजनिक गरेको हुलिया, पहिरन र गहनाको विवरण, भारततर्फको खोजतलास तथा अन्ततः डीएनए परीक्षण महत्वपूर्ण आधार बनेको अनुसन्धानबाट खुलेको छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.