मकवानपुर–२ बाट खुला युवातर्फ कांग्रेस महाधिवेशन प्रतिनिधिमा धावा लामा गोलेले उम्मेदवारी दिने

हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाट धावा लामा गोलेले ३५ वर्षमुनिका खुला युवा महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी दिने भएका छन् ।

कांग्रेसको संशोधित विधानअनुसार प्रत्येक प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट ३५ वर्षमुनिका युवाको प्रतिनिधित्व सुनिश्चित गरिएको छ । सोही व्यवस्थाअन्तर्गत गोलेले खुला युवातर्फ उम्मेदवारी दिन लागेका हुन् ।

युवाको राजनीतिक सहभागिता र नेतृत्व विकासका लागि पार्टीले गरेको व्यवस्था महत्वपूर्ण रहेको गोलेले बताए । पार्टीभित्र युवाको आवाज प्रभावकारी रूपमा उठाउँदै संगठन सुदृढीकरण, नीति निर्माणमा युवाको सहभागिता बढाउने र नयाँ पुस्तालाई नेतृत्वमा जोड्ने आफ्नो उद्देश्य रहेको उनले बताए ।

‘युवा देशको कर्णधार हुन् । देश र पार्टीको विकास तथा समृद्धिका लागि आजको आवश्यकता युवा नेतृत्व हो,’ गोलेले भने, ‘पार्टीले युवालाई नेतृत्व तहमा पुग्ने अवसर दिनु सकारात्मक छ ।’ राजनीति तथा विद्यार्थी संगठनमा सक्रिय गोलेले स्नातकोत्तर अध्ययनका क्रममा नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) मार्फत केन्द्रीय क्याम्पसको स्ववियु निर्वाचनमा समेत सहभागिता जनाएका छन् ।

अध्ययन तथा अध्यापनका क्रममा उनी Rotaract Club of Tribhuvan का संस्थापक बोर्ड सदस्यका रूपमा समेत सक्रिय थिए । त्यस्तै, मकवानपुरगढी–८ बुढीचौरमा सामाजिक सेवा तथा कार्यका लागि स्थापना गरिएको समृद्धि युवा क्लबका अध्यक्षसमेत रहेका छन् ।

हाल त्रिभुवन विश्वविद्यालयबाट एमफिल अध्ययनको तयारीसँगै गोले काठमाडौंका विभिन्न कलेजमा अध्यापन गर्दै आएका छन् । विद्यार्थी जीवनदेखि पार्टी तथा विद्यार्थी राजनीतिमा हासिल गरेको अनुभवलाई महाधिवेशन प्रतिनिधिका रूपमा थप प्रभावकारी ढंगले उपयोग गर्ने गोलेले बताएका छन् ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.