मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका–१२ धारापानीमा ३५ वर्षीय राजकुमार खत्री आफ्नै घरको सुत्ने कोठामा मृत अवस्थामा फेला परेका छन्। घटनामा परिवारकै सदस्य संलग्न रहेको आशंकामा प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार भदौ १९ गते दिउँसो करिब १ः१५ बजे मानबहादुर खत्रीका छोरा राजकुमार घरको सुत्ने कोठामा मृत अवस्थामा रहेको सूचना प्राप्त भएको थियो। सूचना पाएपछि इलाका प्रहरी कार्यालय ठिंगनबाट प्रहरी निरीक्षक सुशान्त मिश्रको कमान्डमा टोली घटनास्थल पुगेको थियो।
प्रहरी टोलीले घटनास्थल सुरक्षित राखी थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीको कमान्डमा एसओसिओ सहितको टोली तथा बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाबाट डग टोली घटनास्थलमा खटाएको थियो। प्रारम्भिक घटनास्थल मुचुल्का तयार गरेपछि मृतकको शव पोस्टमार्टमका लागि हेटौंडा अस्पताल ल्याइएको प्रहरीले जनाएको छ।
राजकुमारको मृत्यु शंकास्पद देखिएपछि प्रहरीले परिवारका सदस्यसहित पाँच जनालाई ज्यानसम्बन्धी कसुरमा अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिइएकामा मृतककी श्रीमती बकैया–१२ की करिब ३५ वर्षीया सलिना घले, आमा ६० वर्षीया गोमा खत्री, भाइ ३३ वर्षीय दिनेश खत्री, ४५ वर्षीय अमर खत्री र ४५ वर्षीय राजेन्द्र घले रहेका छन्।
प्रहरीले मृतकको हत्या परिवारकै सदस्यबाट भएको हुन सक्ने आशंकामा उनीहरूमाथि अनुसन्धान अघि बढाएको हो। यसैबीच, भदौ २२ गते दिउँसो २ बजे पोस्टमार्टम सम्पन्न भएपछि मृतक राजकुमारको शव उनकी दिदी सजिना खत्रीले बुझेर लगेकी छन्।
घटनाको कारण र मृत्युको वास्तविक अवस्था खुल्न बाँकी रहेको छ। प्रहरीले नियन्त्रणमा लिइएका व्यक्तिहरूमाथि सोधपुछ तथा अन्य प्रमाण संकलन गरी घटनाबारे थप अनुसन्धान गरिरहेको छ।














