मकवानपुर । मकवानपुरको बागमती गाउँपालिकामा काका र हजुरबुबासँग विवाद भएपछि एक युवकले घरमा तोडफोड गर्नुका साथै मोटरसाइकलमा आगजनी गरेका छन्।
शनिबार राति करिब ११ः५५ बजे बागमती गाउँपालिका–८ साततल्लेमा काका बुद्ध भन्ने मिलन पाख्रिनको घरमा बस्दै आएका बागमती–६ कायरका करिब २२/२३ वर्षीय निसान पाख्रिनले मादक पदार्थ सेवन गरी काका र हजुरबुबा रामबहादुर पाख्रिनसँग विवाद गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ।
विवादका क्रममा पाख्रिनले काकाको जस्ताले छाएको, इँटा र सिमेन्टबाट बनेको चारकोठे भुइँतले घरको ढोका तथा झ्यालमा तोडफोड गरी क्षति पुर्याएका थिए। उनले घरमा रहेको ना.४२ प ६३६६ नम्बरको १५० सीसी पल्सर मोटरसाइकलमा समेत आगजनी गरेको प्रहरीले जनाएको छ।
त्यसैगरी, नजिकै रहेको हजुरबुबा रामबहादुर पाख्रिनको घरको ढोका तथा झ्यालमा समेत तोडफोड गरी उनलाई कुटपिट गरेको बताइएको छ। घटनाको खबर प्राप्त भएपछि इलाका प्रहरी कार्यालय फापरबारीबाट प्रहरी निरीक्षक सुनिल थापाको कमाण्डमा टोली घटनास्थल पुगेको थियो।
प्रहरीले कुटपिट तथा तोडफोडमा संलग्न निसानलाई नियन्त्रणमा लिएको छ। कुटपिटबाट रामबहादुरको टाउको, दुवै हात तथा शरीरका विभिन्न भागमा चोट लागेको छ। उनलाई स्थानीय झुरेझुरेस्थित साम्भि पोलिक्लिनिकमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि हेटौंडा अस्पताल पठाइएको प्रहरीले जनाएको छ।
आगजनीबाट मोटरसाइकल पूर्णरूपमा जलेर नष्ट भएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।














