मनहरी खोलाले बगाएकी ६० वर्षीया महिला मृत फेला

मकवानपुर । मकवानपुरको मनहरी खोलाले बगाएर बेपत्ता भएकी मकवानपुरकी एक महिलाको शव शुक्रबार बिहान फेला परेको छ।

राक्सिराङ गाउँपालिका–५ बोटबारीस्थित मनहरी खोला तर्ने क्रममा बिहीबार साँझ कैलाश गाउँपालिका–७ डुम्बरेकी करिब ६० वर्षीया कान्छीमाया चेपाङलाई खोलाले बगाएको थियो। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार उनी राक्सिराङ गाउँपालिका–३ स्थित माइतीघरबाट आफ्नो घरतर्फ जाने क्रममा खोला तर्दै गर्दा बगेकी हुन्।

घटनाको खबर प्राप्त भएपछि चैनपुर प्रहरी चौकी र इलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। राक्सिराङ गाउँपालिकाको नगर प्रहरीसँग समन्वय गरी उनको खोजी गरिएको थियो।

खोजीका क्रममा चेपाङलाई बगाएको स्थानभन्दा करिब ५ किलोमिटर तल राक्सिराङ–५ ठाडेस्थित मनहरी खोलामा शुक्रबार बिहान करिब ७:१० बजे मृत अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ।

घटनास्थलमा चैनपुर प्रहरी चौकीबाट प्रहरी टोली पुगेको थियो। मृतकका आफन्तसमेत घटनास्थलमा पुगेका छन्।

घटनाबारे थप अनुसन्धान तथा मुचुल्काका लागि इलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी निरीक्षक सूर्यप्रकाश भट्टको कमाण्डमा सोकोसहितको अनुसन्धान टोली घटनास्थलमा खटिएको बताइएको छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.