हेटौंडा । हेटौंडा–३ लेकपानीमा मोटरसाइकलले ठक्कर दिँदा ७५ वर्षीय पैदलयात्री घाइते भएका छन्।
सोमबार साँझ करिब ७ बजे महेन्द्र राजमार्गअन्तर्गत हेटौंडाबाट चितवनतर्फ जाँदै गरेको बा.प्र. ०२–०२५ प ९६८६ नम्बरको मोटरसाइकलले बाटोमा हिँडिरहेका हेटौंडा–३ बसामाडीका ७५ वर्षीय माइतास श्रेष्ठलाई ठक्कर दिएको हो।
ठक्करबाट श्रेष्ठको टाउको र दाहिने हातको कुममा चोट लागेको छ। उनको अवस्था मध्यम रहेको र हेटौंडास्थित सीएमसी अस्पतालमा उपचार भइरहेको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ। उपचारमा उनका छोरा सुमन श्रेष्ठ संलग्न छन्।
मोटरसाइकल चालक चितवनको भरतपुर महानगरपालिका–४ उज्ज्वल टोलका करिब ३० वर्षीय पप्पु कुमार साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ। मोटरसाइकलसमेत नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
घटनास्थलमा प्रहरी चौकी लेवर्टबाट प्रहरी सहायक निरीक्षक रामबहादुर महतोको कमान्डमा टोली खटिएको थियो। दुर्घटना भएको स्थान प्रहरी चौकी लेवर्टबाट करिब एक किलोमिटर पूर्वमा पर्छ।














