हेटौंडाबाट ७९ वर्षीय वृद्ध सम्पर्कविहीन

हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१४, नयाँ बस्तीबाट ७९ वर्षीय एक पुरुष व्यक्ति बेपत्ता भएका छन्।

बागमती प्रदेश प्रहरी कार्यालयका अनुसार मकवानपुरगढी गाउँपालिका–५ का बुद्धिबहादुर रुम्बा हेटौंडा–१४ नयाँ बस्तीस्थित बहिनीको घरमा पाहुना लाग्न आएका थिए। उनी भदौ ५ गते दिउँसो करिब १२ बजे घरमा रहेका परिवारका सदस्यलाई कुनै जानकारी नगराई आफूखुसी घरबाट निस्किएपछि हालसम्म सम्पर्कविहीन भएका हुन्।

घरबाट निस्किएपछि परिवार तथा आफन्तले उनको खोजी गरे पनि फेला पार्न नसकेपछि उनका छोरा ज्ञानबहादुर रुम्बाले भदौ ९ गते साँझ करिब ६ः३० बजे इलाका प्रहरी कार्यालय पशुपतिनगर, मकवानपुरमा लिखित निवेदनसहित जानकारी गराएका थिए।

जानकारी प्राप्त भएपछि बेपत्ता रुम्बाको खोजीका लागि इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी सहायक निरीक्षक सोनालाल प्रसाद यादवको कमाण्डमा प्रहरी टोली परिचालन गरिएको छ। बेपत्ता भएको स्थान इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट करिब ४ किलोमिटर दक्षिण-पश्चिमतर्फ पर्छ।

प्रहरीका अनुसार रुम्बाको वर्ण गहुँगोरो, शरीर मझौला र उचाइ करिब ५ फिट रहेको छ। उनको कपाल कालो रहेको र घरबाट निस्कने क्रममा ब्यागसमेत बोकेको बताइएको छ।

परिवारले लामो समयसम्म खोजी गर्दा पनि फेला पार्न नसकेपछि प्रहरीको सहयोगमा खोजी कार्यलाई तीव्रता दिइएको हो। प्रहरीले रुम्बालाई देख्ने वा उनको अवस्थाबारे कुनै जानकारी पाउने व्यक्तिलाई नजिकको प्रहरी कार्यालय वा परिवारलाई जानकारी गराइदिन आग्रह गरेको छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.