हेटौंडामा फेला परेकी मृतक महिलाको स्केच सार्वजनिक

हेटौंडा । हेटौंडा उपमहानगरपालिका–१५ फायरलाइनस्थित सामुदायिक वनमा फेला परेकी मृतक महिलाको शव अझै पहिचान हुन नसकेपछि प्रहरीले उनको स्केच सार्वजनिक गरेको छ। गत साउन २२ गते दिउँसो करिब १ः५० बजे फायरलाइनस्थित सामुदायिक वनमा महिलाको शव फेला परेको थियो।

शवको पहिचान तथा सनाखत हुन नसकेपछि जिल्ला प्रहरी कार्यालय मकवानपुरले विशेषज्ञमार्फत मृतक महिलाको स्केच तयार गरी सार्वजनिक गरेको हो। प्रहरीका अनुसार मृतक महिला अन्दाजी ३०/३२ वर्षकी देखिन्छिन्।

उनको उचाइ करिब ५ फिट ९ इन्च, तौल ५०/५५ किलो, गहुँगोरो वर्ण, गोलो अनुहार तथा कालो लामो कपाल रहेको छ। मृतकले गुलाबी रंगको कुर्ता र सेतो सुरुवाल लगाएकी थिइन्। कुर्ताको अगाडिको छातीको भागमा सेतो फुलबुट्टा रहेको थियो।

दुवै हातमा हरियो–रातो रंगको लहठी (चुरा), दुवै खुट्टाको बुढी औँलासँगैको दोस्रो औँलामा चाँदीजस्तो देखिने बिछिया, नाकमा फुली, घाँटीमा पहेँलो धातुमा रातो मोती जडित माला र बाँया कानमा सुनजस्तो पहेँलो धातुको मुन्द्रा लगाएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ। त्यस्तै, मृतकको कपालमा सेतो रंगको ‘बटरफ्लाई’ डिजाइनको क्लिपसमेत रहेको प्रहरीले जनाएको छ।

शवको पहिचान हुन नसकेपछि प्रहरीले विशेषज्ञद्वारा तयार गरिएको स्केचसहित मृतकको हुलिया तथा उनले लगाएका कपडारगहनाको विवरण सार्वजनिक गरेको हो। प्रहरीले स्केच र विवरणका आधारमा मृतकलाई चिन्नुहुने व्यक्ति, आफन्तजन वा उनको बारेमा जानकारी भएका व्यक्तिलाई तत्काल प्रहरीलाई खबर गर्न आग्रह गरेको छ।

मृतक महिलाको पहिचान तथा सनाखत गर्न सक्ने व्यक्तिले जिल्ला प्रहरी कार्यालय मकवानपुरको मोबाइल नम्बर ९८५५०९०१५० मा सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ। प्रहरीले शवको पहिचानसँगै घटनाबारे थप अनुसन्धानसमेत अघि बढाइरहेको छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.