हेटौंडा । पछिल्लो समय लोकप्रिय सामाजिक सञ्जाल टिकटकमार्फत ‘हाम्रो लुकिरहेको प्रतिभाको खोजी’ संस्थाले प्रतिस्पर्धात्मक लोकदोहोरी प्रतियोगिता सञ्चालन गरिरहेको छ । साउन २२ गतेदेखि सुरु भएको प्रतियोगिताको अडिसन चरणबाट ५२ जना प्रतिस्पर्धी दोस्रो चरणमा प्रवेश गरेका छन् ।
‘अग्रजलाई सम्मान, नयाँलाई प्रोत्साहन, कला र गलाको उत्थान हाम्रो अभियान’ भन्ने मूल नाराका साथ संस्थाको टिकटक आईडी ‘हाम्रो लुकिरहेको प्रतिभाको खोजी’ मार्फत प्रत्यक्ष रूपमा प्रतियोगिता सञ्चालन भइरहेको हो ।
संस्थाका संस्थापक पारस बुढाका अनुसार नेपाली लोकगीत तथा संगीतको संरक्षणसँगै गाउँ–बस्तीमा लुकेर रहेका प्रतिभालाई उजागर गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो । सुर्खेत घर भएका बुढा हाल वैदेशिक रोजगारीका क्रममा मलेसियामा छन् ।
संस्थाले वर्षमा दुई पटक यस्तो कार्यक्रम आयोजना गर्दै आएको छ । यसअघि नौ वटा सिजन सम्पन्न गरिसकेको संस्थाले अहिले दशौं सिजन सञ्चालन गरिरहेको हो । संस्थाका अध्यक्ष सुन्दर खड्काको सभाध्यक्षता तथा समाजसेवी एवं सहयोगी खुशी थापाको प्रमुख आतिथ्यतामा प्रतियोगिता भइरहेको छ ।
प्रतियोगिता सञ्चालनका लागि प्रमुख अतिथि थापा, व्यवस्थापक तारादेव डाँगी र सल्लाहकार मिलन थापाले जनही ५० हजार रुपैयाँ सहयोग गरेका छन् । थापा भोजपुर घर भई हाल अमेरिका, डाँगी सल्यान घर भई अमेरिका तथा थापा बागलुङ घर भई हाल पोर्चुगलमा छन् ।
त्यस्तै, कार्यक्रमका अध्यक्ष सुन्दर खड्काले प्रथम पुरस्कार, चितवन घर भई हाल अस्ट्रेलियामा रहेका मनिष ढकालले तेस्रो पुरस्कार तथा भोजपुर घर भई हाल कतारमा रहेका नवराज मास्केले ३ हजार रुपैयाँ सहयोग गरेका छन् । संस्थाकी कोषाध्यक्ष शोभा उप्रेतीका अनुसार अशक्त सुनिता थारूलाई थप १ हजार रुपैयाँ सहयोग गरिएको छ ।
प्रतियोगितामा नारायण न्यौपाने, गोमा ओली र बिमा कुमारी अनुरागी निर्णायक छन् । प्रतियोगितामा देश तथा विदेशबाट गरी कुल १२६ जना सहभागी भएका छन् ।
प्रतियोगितामा प्रथम हुनेले ३१ हजार, द्वितीय हुनेले २१ हजार र तृतीय हुनेले ११ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । सान्त्वना हुने प्रतिस्पर्धीलाई ८ हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिने संस्थाले जनाएको छ ।
प्रतियोगिताको सञ्चालन मल्लिका गुरुङ, नवीन डीसी, शान्त सेती मगर र गोरख डाँगीले गरिरहेका छन् । प्रतियोगिता हरेक दिन नेपाली समयअनुसार साँझ ७ बजेदेखि राति ११ बजेसम्म टिकटकमा प्रत्यक्ष सञ्चालन हुँदै आएको छ ।
संस्थापक बुढाका अनुसार अडिसनबाट छनोट भएका ५२ जना प्रतिभाले अब प्रतियोगिताको दोस्रो चरणमा प्रतिस्पर्धा गर्नेछन् ।














