हेटौंडामा पिकअप भ्यानको ठक्करबाट पैदलयात्री घाइते

मकवानपुर । हेटौंडा उपमहानगरपालिका–४ शीतलमहल चोकमा पिकअप भ्यानको ठक्करबाट एक पैदलयात्री घाइते भएकी छन्।

शनिबार बिहान करिब १०ः१५ बजे ओम म्याक्स हलबाट हुप्राचौरतर्फ जाँदै गरेको बा.प्र.०३–००१ च १८९५ नम्बरको खाली पिकअप भ्यानले शीतलमहल चोकमा बाटो काट्दै गरेकी ३२ वर्षीया दिपिका चौधरीलाई ठक्कर दिएको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

दुर्घटनामा चौधरीको अनुहार र टाउकोमा चोट लागेको छ। उनलाई तत्काल उपचारका लागि हेटौंडा अस्पताल पठाइएको थियो। थप उपचार आवश्यक भएपछि शनिबार दिउँसो ४ः०५ बजे हेटौंडा अस्पतालबाट काठमाडौंस्थित बीएनबी अस्पतालमा रिफर गरिएको थियो। उनी साँझ ८ः१५ बजे अस्पताल पुगेपछि उपचार भइरहेको र स्वास्थ्य अवस्थामा सुधार हुँदै गएको प्रहरीले जनाएको छ।

चौधरी बारा जिल्लाको सिमरा उपमहानगरपालिका–१६ स्थायी घर भई हाल हेटौंडा उपमहानगरपालिका–४ शीतलमहल चोकमा डेरा गरी बस्दै आएकी थिइन्।

पिकअप चालक हेटौंडा–५ का ४९ वर्षीय केदार दाहाललाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार चालकको मापसे परीक्षण गर्दा मादक पदार्थ सेवन नगरेको पाइएको छ।

दुर्घटनापछि वडा प्रहरी कार्यालय हेटौंडाबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो। पिकअप भ्यान र चालकलाई वडा प्रहरी कार्यालय हेटौंडाको नियन्त्रणमा राखिएको छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.