हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१६ हटियास्थित धरान–चतरा सडकखण्डमा मादक पदार्थ सेवन (मापसे) गरी चलाइएको स्कुटर दुर्घटना हुँदा दुई जना घाइते भएका छन् बुधबार अपराह्न करिब ४ः०५ बजे ठूलोदमारबाट चिसापानीतर्फ जाँदै गरेको ना ५७ प ३३८ नम्बरको स्कुटर आफैं अनियन्त्रित भई दुर्घटनामा परेको बागमती प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।
दुर्घटनामा स्कुटर चालक हेटौंडा–१६ चिसापानीका ३९ वर्षीय रामप्रसाद चौलागाईं घाइते भएका छन्। उनको बायाँ हात, खुट्टा र कोखामा चोट लागेको छ भने अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। त्यसैगरी स्कुटरमा पछाडि सवार सोही स्थानका ३२ वर्षीय दीपक सापकोटाको टाउको तथा शरीरका विभिन्न भागमा चोट लागेको छ। उनको अवस्था मध्यम रहेको छ।
दुवै घाइतेलाई उपचारका लागि हेटौंडा अस्पताल पठाइएको थियो। प्रारम्भिक अनुसन्धानका क्रममा चालक र पछाडि सवार दुवैले मादक पदार्थ सेवन गरेको खुलेको छ।
दुर्घटनाग्रस्त स्कुटर अस्थायी प्रहरी पोस्ट हटियाको नियन्त्रणमा रहेको छ। दुर्घटनाबाट सडक अवरुद्ध नभएको र स्कुटरमा क्षति पुगेको बताइएको छ।













