हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले ‘जाऔं हेटौंडा, रमाऔं हेटौंडामा’ भन्ने नारासहित मनाउन लागिएको पर्यटन वर्ष–२०८३ को पहिलो सूचकको रुपमा ‘शून्य फोहोर’ महाअभियानबाट सुरुआत गर्ने भएको छ। नगरलाई स्वच्छ, हरियाली र पर्यटकमैत्री बनाउने लक्ष्यसहित उपमहानगरपालिकाले श्रावण २२ गतेदेखि विशेष सरसफाइ अभियान सञ्चालन गर्ने घोषणा गरेको हो।
बिहीबार आयोजित पत्रकार सम्मेलनमा नगर प्रमुख मीनाकुमारी लामाले पर्यटन वर्ष सफल बनाउन भौतिक पूर्वाधार मात्र नभई सरसफाइ पनि उत्तिकै महत्वपूर्ण आधार भएको बताइन्। नगरमा प्रवेश गर्ने पर्यटकले सबैभन्दा पहिले यहाँको सरसफाइ र वातावरण देख्ने भएकाले ‘शून्य फोहोर’ अभियानलाई पर्यटन वर्षको पहिलो सूचकका रूपमा अघि बढाइएको उनले बताइन्।
उनले हेटौंडालाई ‘स्वच्छ, सृजनशील र समृद्ध औद्योगिक नगर’ बनाउने दीर्घकालीन लक्ष्यअनुसार वातावरण संरक्षण र फोहोर व्यवस्थापनलाई प्राथमिकतामा राखिएको उल्लेख गरिन्। वन, वातावरण तथा विपद् व्यवस्थापन महाशाखामार्फत सञ्चालन हुने यो अभियानले नगरको समग्र वातावरण सुधार गर्ने विश्वास उपमहानगरपालिकाको छ।
हेटौंडा उपमहानगरपालिकाको १९ औँ नगरसभाले ‘जाऔं हेटौंडा, रमाऔं हेटौंडामा’ भन्ने नारासहित पर्यटन वर्ष–२०८३ मनाउने निर्णय गरेको थियो। सोही निर्णय कार्यान्वयनको पहिलो चरणका रूपमा ‘शून्य फोहोर’ महाअभियान घोषणा गरिएको हो।
उपमहानगरपालिकाका अनुसार वि.सं. २०२६ मा नगरपञ्चायत स्थापना भएदेखि नै हेटौंडाले सरसफाइलाई विकासको प्रमुख सूचकका रूपमा अघि बढाउँदै आएको छ। विगतमा पार्थेनियम र सिस्नो हटाउने अभियान, प्लास्टिक संकलन तथा टोल विकास संस्थाको सक्रियताले हेटौंडाले ‘सफा सहर’को राष्ट्रिय पहिचान बनाउन सफल भएको थियो। अहिले पुनः त्यही पहिचानलाई अझ सुदृढ बनाउने लक्ष्य लिइएको नगर प्रमुख लामाले बताइन्।
हाल उपमहानगरपालिकाले वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन–२०७७ र सरसफाइ व्यवस्थापन कार्यविधि–२०७९ कार्यान्वयन गरिरहेको छ। चार वटा वडामा स्रोतमै कुहिने र नकुहिने फोहोर छुट्याएर संकलन गर्ने प्रणाली लागू गरिएको छ भने त्यसलाई क्रमशः सबै वडामा विस्तार गरिने जनाइएको छ। घरदैलो फोहोर संकलन, नयाँ फोहोर व्यवस्थापन केन्द्रको तयारी, पार्क तथा पर्यटकीय क्षेत्रको नियमित सरसफाइ, ५० हजार बिरुवा रोप्ने लक्ष्यअन्तर्गत हालसम्म ४६ हजार १०० बिरुवा रोप्ने काम सम्पन्न भएको उपमहानगरपालिकाले जनाएको छ।

त्यसैगरी ४० माइक्रोनभन्दा पातला प्लास्टिकका झोलामाथि नियन्त्रण, घरायसी जैविक मल उत्पादन, विद्यालयमा ‘इको क्लब’ गठन तथा खोला र खहरे सरसफाइ अभियानलाई पनि निरन्तरता दिइएको छ।
अब सञ्चालन हुने ‘शून्य फोहोर’ महाअभियानअन्तर्गत घर, विद्यालय र कार्यालयबाट निस्कने फोहोर स्रोतमै कुहिने र नकुहिने गरी छुट्याउन कडाइ गरिनेछ। कुहिने फोहोरबाट जैविक मल उत्पादन तथा नकुहिने फोहोरको पुनः प्रयोग र पुनर्चक्रणलाई प्रोत्साहन गरिनेछ।
प्लास्टिकजन्य प्रदूषण नियन्त्रणका लागि ४० माइक्रोनभन्दा पातला प्लास्टिकका झोलामाथि कडाइ गरिनेछ भने कपडाका झोलाको प्रयोग बढाइनेछ। नगरका मुख्य सडक, शाखा सडक तथा सार्वजनिक स्थानमा वृक्षारोपण र सौन्दर्यीकरण अभियानलाई समेत तीव्र बनाइने उपमहानगरपालिकाले जनाएको छ।
सरसफाइलाई प्रतिस्पर्धात्मक बनाउन ‘हाम्रो टोल, सफा टोल’ अभियान सञ्चालन गरी उत्कृष्ट पाँच टोल विकास संस्थालाई नगद पुरस्कार प्रदान गरिनेछ। त्यस्तै, स्रोतमै फोहोर वर्गीकरण, प्लास्टिकको प्रयोग न्यूनीकरण तथा हरियाली प्रवद्र्धनमा उत्कृष्ट काम गर्ने वडालाई ‘स्वच्छ वडा’ सम्मान प्रदान गरिनेछ।
विद्यालयमा ‘मेरो फोहोर, मेरो दायित्व’ कार्यक्रम सञ्चालन गरी विद्यार्थीलाई ‘हरित दूत’का रूपमा परिचालन गरिनेछ। ‘प्लास्टिक बैंक’ अवधारणामार्फत विद्यार्थीले घर वा छिमेकबाट संकलन गरेको प्लास्टिकका बदलामा शैक्षिक सामग्री वा प्रोत्साहन उपलब्ध गराइने व्यवस्था मिलाइनेछ।
बजारका सबै व्यापारिक प्रतिष्ठानले पसलअगाडि अनिवार्य रूपमा फोहोर राख्ने भाँडो राख्नुपर्ने व्यवस्था गरिनेछ। सार्वजनिक तथा विद्यालयका सवारीसाधनमा पनि फोहोर राख्ने भाँडो अनिवार्य गरिने र नगर प्रवेश गर्ने मुख्य नाकामा फोहोर संकलन केन्द्र स्थापना गरिने योजना छ।

उपमहानगरपालिकाले प्रत्येक महिनाको दोस्रो र चौथो शनिबार टोल विकास संस्थाको नेतृत्वमा सामूहिक श्रमदान कार्यक्रम सञ्चालन गर्ने जनाएको छ। साथै हेटौंडाका प्राकृतिक, धार्मिक र ऐतिहासिक सम्पदालाई सफा र हरियालीयुक्त बनाएर उत्कृष्ट पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य लिइएको छ।
सरसफाइ कार्यतालिकाअनुसार श्रावण २२ गते सबै सरकारी कार्यालय, औद्योगिक क्षेत्र तथा विभिन्न संघ–संस्थाले आफ्ना कार्यालय परिसरमा सरसफाइ गर्नेछन्। श्रावण २३ गते सबै टोल विकास संस्थाले आफ्नो क्षेत्रमा सरसफाइ अभियान सञ्चालन गर्नेछन्। सोही दिन बिहान ६ बजे हेटौंडा औद्योगिक क्षेत्रको मुख्य गेटबाट र बिहान ७ बजे वडा नम्बर–११ स्थित बुद्ध पार्कबाट पूर्व–पश्चिम राजमार्ग सरसफाइ अभियान सञ्चालन गरिनेछ। भदौ ५ गते सबै सरकारी तथा संस्थागत विद्यालयमा विद्यालय परिसर सरसफाइ कार्यक्रम सञ्चालन हुनेछ।
पत्रकार सम्मेलनमा उपमहानगरपालिकाले वातावरण संरक्षण र सरसफाइ स्थानीय सरकारको मात्र दायित्व नभई सम्पूर्ण नगरवासीको साझा जिम्मेवारी भएको उल्लेख गर्दै नागरिक समाज, टोल विकास संस्था, उद्योगी–व्यवसायी, शिक्षक, विद्यार्थी तथा सञ्चारमाध्यमलाई अभियानमा सक्रिय सहभागिताका लागि आह्वान गरेको छ। साथै ‘शून्य फोहोर’ अभियानलाई सफल बनाएर पर्यटन वर्ष–२०८३ लाई प्रभावकारी बनाउने विश्वाससमेत व्यक्त गरेको छ।
पत्रकार सम्मेलनमा उपप्रमुख राजेश बानियाँ, नगर प्रवक्ता सबिन न्यौंपाने, हेटौंडा १० नं. वडा अध्यक्ष फुर्वा दोर्जे तामाङ तथा प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर वली लगायतको उपस्थिती थियो।













