हेटौंडा । मकवानपुरगढी गाउँपालिका–४ कुसुमटार खोल्सामा एक युवक मृत अवस्थामा फेला परेका छन्। बागमती प्रदेश प्रहरी कार्यालयका अनुसार बिहीबार बिहान करिब ९:३० बजे स्थानीयले खोल्सामा घोप्टो परेर लडिरहेको अवस्थामा ३७ वर्षीय बुद्धि बहादुर लोप्चनको शव फेला पारेका हुन्।
उनी सोही वडाको वाईबाडाँडा निवासी बिरबहादुर लोप्चनका छोरा हुन्। प्रहरीका अनुसार लोप्चन गत साउन ११ गते दिउँसो करिब २ बजे घरबाट कसैलाई जानकारी नगराई सम्पर्कविहीन भएका थिए। त्यसपछि परिवारले खोजतलास गर्ने क्रममा साउन १२ गते इलाका प्रहरी कार्यालय मकवानपुरगढीमा हराएको भन्दै निवेदन दिएका थिए।
घटनाबारे जानकारी प्राप्त हुनासाथ अस्थायी प्रहरी पोस्ट धादिङबाट प्रहरी सहायक निरीक्षक प्रेम भुजेलको कमाण्डमा टोली खटिएर घटनास्थल सुरक्षित राखिएको थियो। उक्त स्थान इलाका प्रहरी कार्यालय मकवानपुरगढीबाट करिब ९ किलोमिटर पश्चिममा पर्छ। शवको मुचुल्का उठाई पोष्टमार्टमका लागि हेटौंडा अस्पताल पठाइएको थियो।
पोष्टमार्टम पश्चात मृतकका भाई सोम बहादुर लोप्चनले शव बुझेका छन्। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।















