शे–फोक्सुण्डो ताल यात्रा संस्मरण !

यात्रा केवल घुम्न र दृश्यावलोकनका लागि मात्रै होइन, प्रकृतिको शाश्वत स्वरूपलाई नजिकबाट आलिङ्गन गर्न र त्यसको अन्तरभावलाई नियाल्न, श्रवण गर्न र बुझ्न पनि हो। जुन हावा, छहरा, चराहरूको चिरबिर र नजिकैबाट बगिरहेका स्वच्छ खोलानालाका सुस्केराबाट थाहा पाउन सकिन्छ। प्रकृतिको भाव बुझ्न कठिन छ, तर जो प्रकृतिमा पागल बन्छ, उसैले बुझ्दछ प्रकृतिलाई र उसैले भोग्दछ स्वर्गीय आनन्दलाई।

प्रकृतिको रसास्वादनमा पल्केपछि संसारका सबै चीज फिका लाग्न थाल्दो रहेछ। त्यसैले म आफैंलाई सधैं प्रकृतिमा समर्पित राख्ने प्रयास गरिरहेको हुन्छु। नेपाल घुम्ने उत्कट चाहना र नेपालको आन्तरिक पर्यटन प्रवर्द्धन गर्नुपर्छ भन्ने सानैदेखिको रहर पूरा गर्ने क्रममा यसपटक डोल्पा जिल्लाको सुन्दर शे–फोक्सुण्डोताललाई गन्तव्यका रूपमा चयन गर्यौं। कर्णालीलाई अझ नजिकबाट नियाल्न, त्यहाँको भौगोलिक अवस्थिति र कष्टप्रद जीवनयापनसँग साक्षात्कार गर्न यो गन्तव्य रोज्यौं।

मिति २०८२ असोज १८ गते यात्रा सुरु गर्ने योजना रहे पनि अविरल वर्षाका कारण यात्रा प्रारम्भ असोज २० गते सर्‍यो। असोज १९ को रात असाध्यै लामो लाग्यो। बल्लबल्ल पूर्व फाटेर उषामय बिहानीले लामपुछ्रे ताराहरू बिलिन हुँदा घडीले बिहान ४:३० बजेको संकेत दियो। ५ बजे सबै जना जम्मा भएर निस्किने योजना थियो — रामलाल स्याङतानजी, राजकुमार मोक्तानजी, घनश्याम घिसिङ र म, हामी चार जना कर्णालीको सुन्दर शे–फोक्सुण्डो तालको यात्रामा निस्क्यौं।

पुरै उज्यालो नभएकाले टर्चको सहायताले धादिङको वालसिङ पुग्यौं। चालिसे हुँदै मलेखुमा पुगेर पेट्रोल भर्यौं। यात्रा लामो भएकाले धेरै नअल्मलिई मलेखुबाट बिहान ७ बजे हिँड्यौं। हाल मुग्लिन–पोखरा सडक अत्यन्त राम्रो भएकाले आँबुखैरेनी, डुम्रे, दमौली हुँदै निर्धारित समयभन्दा करीब ४५ मिनेटअघि पोखरा पुग्यौं। पोखरामा खाना खाएर केही आवश्यक सामान किन्यौं र ११:३० बजे बाग्लुङतर्फ लाग्यौं।  कास्कीको सुन्दर गाउँ लुम्ले, ढिकुरपोखरी, नयाँपुल र पर्वतको कुस्मा हुँदै बाग्लुङ, म्याग्दी र पर्वतको संगम स्थल मालढुङ्गा पुग्यौं। बाग्लुङ कालिकाको बाटैबाट दर्शन गर्दै सुन्दर बाग्लुङ बजार आइपुग्यौं। यो क्षेत्र पहिल्यै घुमिसकेकाले हामी सीधै बुर्तिबाङतर्फ लाग्यौं।

मध्यपहाडी लोकमार्गको प्रारम्भसँगै त्यस बिन्दुदेखिको यात्रा बिल्कुल नयाँ थियो। सयपत्री र मखमली फुल्न ठिक्क परेको थियो। सडकका दायाँबायाँ सुनौला धानका बाला लहराइरहेका थिए। त्यो दृश्यले मन मोहित बनायो। कतै पिच सडक, कतै निर्माणाधीन खाल्डा–खुल्टी बाटो। शरीर थाक्दै र गल्दै थियो, तर मन भने सुन्दर गन्तव्यको झल्कोमा रमाइरहेको थियो।

दिउँसो ३ बजे बुर्तिबाङ पुग्यौं। खाजा खाएर यात्रा अगाडि बढायौं। केही समय उकालो यात्रापछि बाग्लुङ जिल्ला छोड्दै पूर्वी रुकुम प्रवेश गर्यौं। सामाजिक सञ्जालमा भाइरल “चौरीबुकि डाँडा” छुट्टिने पाती हाल्ने डाँडा पुग्यौं। त्यहाँ पुग्दा पानी पर्न थाल्यो। करीब ३५०० मिटर उचाइमा रहेको डाँडामा पानीसँगैको चिसोले निकै सतायो।

त्यहाँबाट तल झर्नुपर्ने रहेछ। बाटो वरिपरि भेडीगोठहरू, साँझको धुन्धले पाखा सेताम्मे देखिने, गोठ फर्किंदै गरेका भेडाको बथान — त्यो दृश्य हेरिरहँदा आँखा सडकभन्दा गोठतर्फै तानिन्थ्यो। साँझ परिसक्यो, नयाँ बाटो र कठिन यात्रा। त्यो दिनको बास तकसेरा गाउँमा भयो। ६:३० मा लुगुम गाउँ पुग्यौं। त्यहाँ तकसेरा जाने बाटो सोधेर तल काक्री बजार हुँदै तकसेरा तर्फ लाग्यौं। मध्यपहाडी लोकमार्ग छोडी कच्ची सडक हुँदै करिब ४० किमीको यात्रा पछि राति ८ बजे ऐतिहासिक गाउँ तकसेरा आइपुग्यौं। हामीले अघि नै होमस्टेमा सम्पर्क गरेको भएकाले हामी पुग्नेबित्तिकै लिन आउनुभयो। अर्गानिक खाना र पारिवारिक वातावरण सहितको बास सहज र सुखद रह्यो।

दोस्रो दिन
बिहानै उठेर तकसेरा गाउँ घुम्न निस्क्यौं। ठूला–ठूला भिरालो पाखामा झुरुप्प एउटै आँगन भएका करिब ५०० घरहरूको सुन्दर गाउँ धेरै बेर हेर्यौं। ९५% मगर जातिको बसोबास रहेको यो गाउँ “तक” र “शेरा” नामका दुई गाउँ मिलाएर “तकशेरा” नाम राखिएको रहेछ। खाम मगर भाषा, मौलिक भेषभूषा र इमानदार मानिसहरूको सहअस्तित्वले प्रभावित पार्‍यो।

तल उत्तरतर्फ गंगा नदी बगिरहेको थियो। पारीबाट हेर्दा सबै घरका धुरीबाट उठेको धुवाँले दृश्य झनै मनमोहक बनाएको थियो। केही समय त्यहाँको रहनसहन, जीवनशैली र मूल्य–मान्यताबारे जानकारी लिएपछि अर्गानिक खाजा खायौं र तकशेरा छोड्यौं।

काक्री बजार झरेर पुनः मध्यपहाडी लोकमार्गमा फर्कियौं। केही बेरमा रुकुमकोट पुग्यौं, त्यहाँको सुन्दर कमलदह अवलोकनपछि खाना खाएर यात्रा अघि बढायौं। छोटो बाटो रोज्यौं, तर सडक हिलाम्मे र कठिन थियो। रुकुमकोटबाट तल झरेर सानो भेरी नदी पुल तरेर पश्चिम रुकुम प्रवेश गर्यौं। बाटैमा मौलिक मयूर नाच हेर्ने अवसर पायौं।

छिनखेत हुँदै पुनः मध्यपहाडी लोकमार्गमा जोडियौं। झोलुङ्गे पुल पार गर्दै अपराह्न ४ बजे सानो भेरी र ठूला भेरी नदीको संगम स्थल जाजरकोटको रिम्ना बजार पुग्यौं। पेट्रोल हालेर अघि बढ्यौं। जाजरकोटको नालगाड र पश्चिम रुकुमको आठबिसकोट हुँदै तल्लुबगर पुग्दा साँझ परिसकेको थियो। थकान बढ्दै गइरहेको थियो, तर यात्रा छोट्याउन अघि बढ्यौं। राति ८:१५ मा त्रिवेणी बजार पुग्यौं र त्यहीं बास बस्यौं। त्यहाँका मानिसहरूको भाषागत फरकले संवादमा केही कठिनाइ भयो।

तेस्रो दिन
त्रिवेणीबाट बिहान ५ बजे निस्क्यौं। थुप्रै झोलुङ्गे पुल र अफ्ठेरा बाटा पार गर्दै डोल्पाको सुलिगढ पोस्ट पुग्यौं। प्रायः मानिस त्यहीं बाइक छोडेर पैदल यात्रा थाल्दारहेछन्, तर हामीले राष्ट्रिय निकुञ्ज भित्रसम्म जाने निधो गर्यौं। त्यसका लागि सदरमुकाम दुनै पुग्नु पर्‍यो। दुनैमा खाजा खाएर राष्ट्रिय निकुञ्जमा बाइक राख्यौं, टिकट काट्यौं र पैदल यात्रा सुरु गर्यौं।

भेरी नदीको किनार हुँदै यात्रा अघि बढायौं। माथि टल्किँदै हिमालका चुचुराहरू, छेउमै सुसाउँदै भेरी नदी — अद्भुत वातावरण। करिब ३ घण्टाको हिँडाइपछि कागेनी पुग्यौं र त्यहीँ खाना खायौं। त्यहाँबाट मोबाइल नेटवर्क नदिने रहेछ। ठाउँ–ठाउँमा झोलुङ्गे पुल र काठे साँघु पार गर्दै यात्रा अघि बढायौं। अपराह्नतिर पानी पर्‍यो। केही समय ओत लाग्यौं, तर पानी नरोकिने देखेपछि रेनकोट ओढेर अघि बढ्यौं। साँझ ५:३० मा छेप्का पुग्यौं र त्यहाँ बास बस्यौं। न्यानो आतिथ्य र स्वादिलो खानासँग तेस्रो दिनको यात्रा समाप्त भयो।

चौथो दिन
बिहान ५ बजे उठेर खाजा खायौं र यात्रा सुरु गर्यौं। शरीर झन् शिथिल हुँदै गइरहेको थियो, तर अघि बढ्नुको विकल्प थिएन। करिब ४ घण्टाको हिँडाइपछि रेचि पुग्यौं र त्यहीँ खाना खायौं। त्यसपछि ठाडो उकालो सुरु भयो — २६०० मिटरबाट ३७०० मिटर उचाइमा चढ्नु पर्ने थियो। साथीसँग अलि गाह्रो भयो, तर मलाई सहज थियो किनभने यसअघि पनि उच्च हिमाली यात्रा गरिसकेको थिएँ।

करीब २ घण्टा ३० मिनेटको ठाडो उकालोपछि शे–फोक्सुण्डो झरना देखापर्‍यो। सारा थकान हरायो। झरनाको अवलोकनपछि करिब ४५ मिनेट तेर्सो बाटो हिँड्दा रिङ्मो गाउँ पुग्यौं। त्यहाँका घर, भेषभूषा, भाषा र जीवनशैलीले मोहनी लगायो। साँझ ५:३० मा विश्वकै गहिरो ताल — सुन्दर शे–फोक्सुण्डो ताल — पुग्यौं। ताल नजिकैको होटलमा बास बस्यौं र थकाइ मेट्न खाना खाएर सुत्यौं।

पाँचौं दिन
बिहान ५ बजे उठ्यौं। हामी चार जनालाई दुई टिममा बाँड्यौं। रामलालजी र राजकुमारजी बायाँपट्टि रहेको भ्यूपोइन्टतर्फ, घनश्याम र म माथिल्लो भ्यूपोइन्टतर्फ लाग्यौं। हाम्रो बाटो अलि कठिन थियो। सूर्योदयको किरण बिस्तारै तालमा पर्न थाल्यो। १ घण्टा ३० मिनेटको ठाडो उकालोपछि ४६०० मिटर उचाइमा रहेको तेस्रो भ्यूपोइन्ट पुग्यौं।

फोक्सुण्डो ताल तलबाट टल्किरहेको देख्दा साँचै शब्दहीन भएँ — कल्पनाभन्दा सुन्दर! जब सुर्यको किरण पुरै तालमा पर्‍यो, लाग्थ्यो कुनै नामुद चित्रकारले कोरेको काल्पनिक चित्र हो। निलो आकाश, वरिपरिका सेता हिमालहरू र फिक्का निलो ताल — आहा!
त्यो क्षण अलौकिक थियो। केही समय प्रकृतिसँग अन्तरसंवाद गरेँ। कठिन यात्रा भए पनि गन्तव्यको सुन्दरता सबै थकान मेटाउने रहेछ।

फर्किने बेला आयो। मन नलागे पनि फर्किनै पर्‍यो। तल झर्यौं, अर्को टिमसँग भेट भयो। ताल किनारमा केहीबेर रमाइलो गर्दै खाना खायौं र १२ बजे फर्कियौं। ओरालो बाटोले शरीर अझै थकित बनायो। साँझ छेप्का पुग्यौं र त्यहीँ बास बस्यौं।

छैटौं दिन
बिहान ५ बजे उठेर यात्रा सुरु गर्यौं। करिब ३ घण्टाको हिँडाइपछि सुलिगढ पुग्यौं जहाँ बाइक राखिएको थियो। अत्यन्त थकित शरीर लिएर दुनै बजार पुग्यौं, तर बजारमा खाना पाइनन्। सामान्य खाजा खाएर फर्कियौं। बेलुका ८ बजे रुकुमकोट पुग्यौं र बास बस्यौं।
सातौं बिहान ५ बजे रुकुमकोट छोड्यौं। काक्री बजारमा पेट्रोल हाल्यौं र चिया खायौं। बिहान ११ बजे बाग्लुङ पुग्यौं र त्यहीं खाना खायौं। त्यसकै बीचमा घरमा अप्रिय घटना भएको समाचार आयो। सबै जना स्तब्ध भयौं। छिटोभन्दा छिटो घर पुग्ने गरी दौड्यौं।
राति ९ बजे घर आइपुग्यौं र २०८२ असोज २६ गते शे–फोक्सुण्डो यात्रा त्यहीं समाप्त भयो।

सारांश
कैलाश–२, बैकुण्ठ (मकवानपुर) देखि शे–फोक्सुण्डो ताल (डोल्पा) सम्म जम्मा ६४१ किलोमिटर।
शे–फोक्सुण्डो ताल ३६३९ मिटर उचाइमा रहेको।
२ दिन जान र २ दिन आउन पैदल यात्रा आवश्यक।
पैदलमार्ग सहज।
अन्य ट्रेकिङ रुटभन्दा यो रुटमा खाना र बसाइ सस्तो।
शे–फोक्सुण्डो ताल अत्यन्तै सुन्दर।

सुझाव
काठे साँघुहरू पुराना र जोखिमयुक्त भएकाले मर्मत गर्न आवश्यक।
पैदलमार्गमा एउटा होटलबाट अर्को होटलको दूरी धेरै भएकाले थप होटलहरूको व्यवस्था हुनुपर्छ।
पैदल यात्रामा ३ दिनसम्म मोबाइल नेटवर्क नचल्ने भएकाले सम्पर्कविच्छेद हुन्छ — त्यसका लागि नेटवर्क टावर स्थापना हुनुपर्छ।

यात्री:
राजेन्द्र घिसिङ
कैलाश–२, मकवानपुर

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.