बागमतीको नीति तथा कार्यक्रममा उद्योग: युवालाई स्वदेशमै रोजगारदेखि घरेलु मदिराको ब्राण्डिङ्गसम्म
नीति तथा कार्यक्रम कार्यान्वयनमा जोड दिनेछौं: मन्त्री तामाङ

हेटौँडा   बागमती प्रदेश सरकाको आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रममा उद्योग क्षेत्रमा युवालाई स्वदेशमै रोजगार सिर्जना गर्नेदेखि घरेलु मदिराको ब्रण्डिङ्गका विषयहरु समेटेको छ ।

बुधबार प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले प्रदेश सभामा प्रस्तुत गरेको सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा बागमती प्रदेशस्थित सिन्धुली, मकवानपुर र चितवन जिल्लामा पर्ने मदन भण्डारी राजमार्ग र पुर्व–पश्चिम राजमार्ग क्षेत्रलाई औद्योगिक तथा बजार क्षेत्रको विकास तथा प्रवर्धन गर्ने विषयहरु उल्लेख गरेको हो ।

सरकारले “युवालाई स्वदेशमै रोजगार–समृद्ध प्रदेशको बलियो आधार” भन्ने नाराका साथ विज्ञान, प्रविधि, स्टार्टअप, इन्क्युबेशन सेन्टर, मेला महोत्सव र सीप विकास तालिम मार्फत् नवप्रवर्तन र उद्यमशीलता प्रवर्धन गर्दै प्रदेशका सबै जिल्लामा उद्यमशीलता प्रवर्धन कार्यक्रम सञ्चालनलाई निरन्तरता दिइएको छ ।

यसैगरी , “जहाँ उत्पादन, त्यहाँ रोजगारी” भन्ने नाराकासाथ प्रत्येक जिल्लामा स्थानीय श्रोत, साधनको उच्चतम उपयोग गर्दै रोजगारी सिर्जना र उत्पादन प्रवर्धन गर्न “एक वडा एक उद्यम, एक स्थानीय तह एक प्रमुख उद्योग कार्यक्रम सञ्चालन गरिने विषय समेटिएको छ ।

साथै उद्योग तथा वाणिज्य प्रशासन सम्बन्धी कार्यलाई विद्युतीय प्रणाली मार्फत सञ्चालन गर्न आगामी आर्थिक वर्षमा ४ वटा उद्योग तथा वाणिज्य कार्यालयलाई नमूना कार्यालयको रुपमा विकास गरिने समावेश गरिएको छ ।

नीति तथा कार्यक्रममा उद्यमशीलताको विकासमार्फत् रोजगारी सिर्जना गर्न रणनीतिक योजना निर्माण गरी कार्यान्वयनमा ल्याइनेछ । सरकारको नीति तथा कार्यक्रममा भूमि सम्बन्धी तथ्याङ्क सङ्कलन गर्ने र नियमित अद्यावधिक गर्ने कार्यलाई प्राथमिकता दिईने,  तथ्याङ्क सङ्कलन र भू–सूचना प्रणालीलाई पूर्ण रुपमा कार्यान्वयनमा ल्याइने जनाएको छ ।

बागमती प्रदेश भित्रका खानी तथा खनिज पदार्थको अन्वेषण तथा अनुसन्धान गर्ने कार्यलाई निरन्तरता दिइने र खानी तथा खनिज पदार्थहरूको सर्भेक्षण, अभिलेखाङ्कन कार्यको शुरुवात गरिने उल्लेख गरिएको छ ।

सरकारले बागमती प्रदेश भित्र औधोगिक क्षेत्र, औधोगिकग्राम तथा हस्तकलाग्राम स्थापना कार्यलाई निरन्तरता दिँदै औद्योगिक विकासका लागि घरेलु, साना तथा मझौला उद्योग र परम्परागत तथा मौलिक काष्ठ, प्रस्तर कला, बाजागाजा उत्पादन गर्ने हस्तकला उद्योगहरूको प्रवर्धन गर्ने कार्यलाई थप प्रभावकारी बनाइने विषय समेटिएको छ ।

यसैगरी नीति तथा कार्यक्रममा घरेलु मदिराको उत्पादनमा आधुनिक प्रविधिको प्रयोग गरी ब्राण्डिङ्ग गर्न तहगत समन्वय र सहजीकरण गरिनुका साथै हिमाली क्षेत्रको खानेपानी प्रशोधन, बजारीकरण र ब्राण्डिङ्गको लागि निजी क्षेत्रलाई प्रोत्साहन गरिने उल्लेख गरिएको छ ।

नीति तथा कार्यक्रम कार्यान्वयनमा जोड दिनेछौं: मन्त्री तामाङबागमती प्रदेशकी उद्योग , वाणिज्य , भुमी तथा प्रशासन मन्त्री शुकमाया तामाङले नीति तथा कार्यक्रम कार्यान्वयनमा जोड दिने बताएकी छन् । आफुले मन्त्रालयको जिम्मेवारी लिइसकेपछि महत्त्वपूर्ण  नीति तथा कार्यक्रम अघि सारेको दाबी गर्दै मन्त्री तामाङले त्यसलाई कार्यान्वयनमा पनि जोड दिने दाबी गरिन् ।

उनले कार्यक्रम कार्यन्वयनका विषयमा उत्साहजनक बजेट ल्याउन आफुले पहल गरिहेको पनि जानकारी दिइन् । ‘कार्यक्रम कार्यन्वयनका लागि विविध कुराको आवश्यक पर्छ । नीति तथा कार्यक्रम कार्यान्वयन गर्छु नै भनेर अघि सारेको हो , ’ उनले भनिन् , ‘त्यसका लागि धेरै भन्दा धेरै बजेट ल्याउन मैले मुख्यमन्त्री र अर्थमन्त्रीज्युसँग पहल गरिरहेको छु । ’

मन्त्री तामाङले उत्पादन र रोजगारी सिर्जना गर्ने मन्त्रालय भएपनि सबै भन्दा कम बजेट पर्ने गरेको गुनासो गरिन् । युवालाई विदेश पलायनबाट रोक्नुपर्ने नेताहरुको भाषण भएपनि बजेटमा कन्ज्युस्याँई गरेको भन्दै उनले विगतको भन्दा बढी  बजेट ल्याउन आफुहरुले निरन्तर प्रयास गरिरहेको बताइन् ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.