हेटौंडा । भूमि समस्या समाधान आयोग मकवानपुरले बकैया गाउँपालिका– ७ स्थित भिरकोटका भूमिहीन सुकुमवासीलाई जग्गा धनीपुर्जा वितरणको गरेको छ । आइतबार एक कार्यक्रमबिच आयोग मकवानपुरले बकैया– ७ भिरकोटका ५९ भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासीलाई जग्गा धनीपुर्जा उपलब्ध गराएको हो ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीको उपस्थितिमा जग्गा धनीपुर्जा वितरण गरिएको हो । पछिल्लोपटक गठित भूमि समस्या समाधान आयोगले पहिलोपटक मकवानपुरमा जग्गा धनीपुर्जा वितरण गर्ने तयारी गरेको हो । बकैया गाउँपालिकासँगको समन्वयमा ४० जना भूमिहीन दलित, भूमिहीन सुकुमवासी र १९ अव्यवस्थित बसोबासीहरूलाई लालपुर्जा वितरण गरिएको आयोग मकवानपुरका सदस्य कविन सांगामीले जानकारी दिए ।
आयोग मकवानपुरले वडाले प्रविष्ट गरेको विवरणमाथि छानबिन गरी भूमिहीन नागरिकहरूलाई पुर्जा वितरणको गरिएको उनले बताए । उनका अनुसार आवास र कृषि प्रयोजनका लागि भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासीलाई जग्गा धनीपुर्जा उपलब्ध गराएको उनको भनाइ छ । अघिल्लो कार्यकालमा भएको निर्णयलाई निरन्तरता दिँदै आयोग मकवानपुरले बकैया( ७ का भूमिहीन सुकुमवासीलाई न्यूनतम एक कठ्ठादेखि अधिकतम पाँच कठ्ठासम्म जग्गा उपलब्ध गराएको उनले बताए ।
बकैया गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछानेको सभाध्यक्षतामा भएको कार्यक्रममा नेपाल सरकारका मुख्य सचेतक महेश बर्तौला , पुर्व मुख्यमन्त्री डोरमणी पौडेल , भुमि आयोगका अध्यक्ष हरि प्रसाद रिजाल , बागमती प्रदेशका उद्योग वाणिज्य भुमि तथा प्रशासन मन्त्री शुकमाया तामाङ , बागमती प्रदेश सभा सदस्य ईन्द्र बानियाँ , प्रेम बहादुर पुलामी लगायतले मन्तव्य राखेका थिए ।

















