‘ग्राभिटी रोप–वे’ ६ महिनादेखि बन्द, कृषि उपज ढुवानीमा समस्या

हेटौंडा मकवानपुरको कैलाश गाउँपालिका–९ स्थित नामटारको कपचेरी र घैराङडाँडा जोड्ने ‘ग्राभिटी रोपवे’को तार चुडिँदा ६ महिनादेखि स्थानीय बासिन्दा समस्यामा परेका छन् । बिनाविद्युत् र इन्धनबाट चल्ने ग्राभिटी रोपवे भदौ १४ देखि बन्द छ । रोपवेको तार परिवर्तन गरेर मर्मत गर्न नसक्दा स्थानीयले उत्पादन गरेका कृषिजन्य वस्तु बजारसम्म पु¥याउन र आवश्यक सामान बजारवाट गाउँमा लैजान समस्या भएको घैराङडाँडाकी ठूलीमाया रुम्बाले बताइन् । ‘६ महिना भइसक्यो, अहिलेसम्म मर्मत हुन नसक्दा हामीलाई समस्या भएको छ,’ उनले भनिन् ।

रोपवेको तार मर्मत गर्न करिब ७ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ । तर अहिलेसम्म वडा र पालिका कार्यालयले चासो नदिएको स्थानीयको गुनासो छ । एक हजार दुई सय १४ मिटर लामो ग्राभिटी रोपवे निर्माण भएपछि सडक सञ्जाल नपुगेको घैराङमा तरकारी तथा स्थानीयस्तरमा उत्पादित खाद्यान्न बजारसम्म पु¥याउन र बजारबाट घरायसी सामग्री ल्याउन सहज भएको थियो ।

हिँडेर दुई घण्टा लाग्ने बाटोमा रोपवेमार्फत करिब २ मिनेटमै सामान ओसारपसार गर्न सकिने भएपछि स्थानीयले काउली, आलु, मुला, बन्दालगायतका तरकारी र अन्न नामटार बजारसम्म झार्ने गरेका थिए । तरकारी उत्पादनबाटै किसानले वार्षिक २ करोड रुपैयाँभन्दा बढी आम्दानी गर्ने कैलाश गाउँपालिका–९ का अध्यक्ष भुवनसिंह घलानले बताए ।

२०७१ सालमा सस्पेन्सन ब्रिज डिभिजन कार्यालय काठमाडौं र स्थानीय उपभोक्ताको लागत सहभागितामा २५ लाख ५२ हजार रुपैयाँमा रोपवे निर्माण गरिएको थियो । रोपवे सञ्चालनका लागि उपभोक्ता समितिमार्फत ठेकेदारलाई जिम्मा लगाइएको थियो । यसबीच चार–पाँचजना ठेकेदार फेरिए । तर, कुनै पनि ठेकेदारले उपभोक्ता समितिलाई हिसाब–किताब देखाएका छैनन् । ठेकेदार पैसा उठाएर सम्पर्कविहीन भएपछि रोपवे मर्मत गर्न समस्या भएको वडाध्यक्ष घलानले बताए  ।

मर्मतका लागि आर्थिक सहयोग गर्न वडा कार्यालयमा निवेदन दिए पनि अहिलेसम्म सुनुवाइ नभएको रोपवे उपभोक्ता समितिका अध्यक्ष ठाकुरसिंह रुम्बा बताउँछन् । ठेकेदारले समितिलाई रकम नबुझाएकाले मर्मत गर्न समस्या भएको उनको भनाइ छ ।
रोपवेमा रहेका दुईवटा भारी बोक्ने क्यारीमार्फत माथिबाट ८० केजी र तलबाट ३० केजी एकैसाथ ढुवानी गरेको थियो । घैराङडाँडाबाट एक मिनेट ५५ सेकेन्डमा नामटार कप्चेरी स्टेसनमा सामान ढुवानी हुन्थ्यो । दुई घण्टाको बाटोमा रोपवेमार्फत दुई मिनेटमै ढुवानी हुने भएपछि स्थानीयलाई सहज थियो । रोपवेबाट प्रतिकिलो २ रुपैयाँमा सामान ढुवानी हुने गरेको थियो । कान्तिपुरबाट साभार ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.