मनहरीको घोषणाः डिजिटल सेवा विस्तार, कृषि आधुनिकीकरणमा जोड

हेटौँडा । मकवानपुरको मनहरी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि डिजिटल सुशासन, कृषि आधुनिकीकरण, शिक्षा, स्वास्थ्य तथा पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।

सोमबार गाउँपालिकाको १९ औँ गाउँसभा अधिवेशनको पहिलो बैठकमा अध्यक्ष रन्जन कालाखेतीले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै स्थानीय सरकारको सेवा प्रवाहलाई प्रविधिमैत्री र प्रभावकारी बनाइने बताएका छन्।

नीति तथा कार्यक्रममा विद्यालय, स्वास्थ्य संस्था तथा वडा कार्यालयमा व्यवस्थापन सूचना प्रणाली ९एमआईएस० लागू गर्ने, गाउँपालिकाको आफ्नै मोबाइल एप सञ्चालनमा ल्याउने तथा डिजिटल सेवाको दायरा विस्तार गर्ने योजना समेटिएको छ। तथ्यमा आधारित योजना निर्माणका लागि गाउँपालिकाको डिजिटल प्रोफाइल तयार गरिने उल्लेख गरिएको छ।

कृषि क्षेत्रलाई उत्पादनमुखी र व्यवसायिक बनाउने उद्देश्यसहित कृषकलाई आधुनिक प्रविधि, तालिम तथा अनुदानमार्फत सहयोग गर्ने नीति लिइएको छ। उन्नत बीउबिजन, सिँचाइ सुविधा, पशुपालन, दुग्ध उत्पादन तथा कृषि यान्त्रीकरणलाई प्रोत्साहन गरिने जनाइएको छ। स्थानीय उत्पादनको बजारीकरण तथा कृषिमा युवाको सहभागिता बढाउने कार्यक्रमसमेत समेटिएको छ।

शिक्षा क्षेत्रमा सामुदायिक विद्यालयको गुणस्तर सुधार, सूचना तथा सञ्चार प्रविधिको प्रयोग विस्तार, शिक्षकको क्षमता अभिवृद्धि तथा प्राविधिक शिक्षाको विस्तारलाई प्राथमिकता दिइएको छ। यस्तै, स्वास्थ्यतर्फ ‘जिरो होम डेलिभरी’ कार्यक्रमलाई निरन्तरता दिँदै गर्भवती तथा सुत्केरी महिलाको स्वास्थ्य सुरक्षामा विशेष जोड दिइने भएको छ। मानसिक स्वास्थ्य, किशोर स्वास्थ्य तथा नसर्ने रोग नियन्त्रणका कार्यक्रमलाई समेत प्राथमिकतामा राखिएको छ।

खानेपानी तथा सरसफाइ, सडक तथा पुल निर्माण, सार्वजनिक भवनको निर्माण तथा मर्मत, साथै सामाजिक समावेशीकरणका कार्यक्रमलाई पनि नीति तथा कार्यक्रममा समावेश गरिएको छ। ज्येष्ठ नागरिक, महिला, बालबालिका, दलित, आदिवासी जनजाति तथा अपांगता भएका व्यक्तिको अधिकार र सहभागिता सुनिश्चित गर्न विशेष कार्यक्रम सञ्चालन गरिने गाउँपालिकाले जनाएको छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.