हेटौंडा । हेटौंडा सिटी कलेजले शैक्षिक वर्ष २०८३र८४ देखि ४ वर्षे बीबीएस कार्यक्रम निःशुल्क रूपमा सञ्चालन गर्ने घोषणा गरेको छ।
कलेजद्वारा आयोजित पत्रकार सम्मेलनमा कलेज प्रमुख सुमन्त सिलवालले उक्त जानकारी दिनुभएको हो। उहाँका अनुसार कार्यक्रममा ४० जना विद्यार्थीलाई निःशुल्क अध्ययनको अवसर प्रदान गरिनेछ।
विद्यार्थीहरूलाई नियमित पठनपाठनसँगै विभिन्न सीपमूलक तथा दक्षता अभिवृद्धि तालिमहरू प्रदान गरिनेछ। साथै सम्बन्धित क्षेत्रमा इन्टर्नसिपको व्यवस्था गरिएकाले अध्ययनसँगै व्यावहारिक अनुभव हासिल गर्ने अवसर पनि उपलब्ध हुनेछ।
कलेज प्रमुख सिलवालका अनुसार स्नातक तहको अध्ययन पूरा गरी अन्तिम नतिजा प्रकाशित भएपछि विद्यार्थीहरूको रोजगारी व्यवस्थापनका लागि समेत आवश्यक पहल गरिनेछ।
त्रिभुवन विश्वविद्यालयअन्तर्गत लाग्ने रजिस्ट्रेशन शुल्क र परीक्षा शुल्क बाहेक अन्य सम्पूर्ण शैक्षिक शुल्क नलाग्ने गरी बीबीएस कार्यक्रम सञ्चालन गरिने कलेजले जनाएको छ।
उच्च शिक्षालाई सर्वसुलभ, गुणस्तरीय तथा व्यावसायिक बनाउने उद्देश्यका साथ ल्याइएको यस कार्यक्रमबाट विशेषगरी आर्थिक रूपमा कमजोर तथा अवसरको खोजीमा रहेका विद्यार्थीहरू लाभान्वित हुने विश्वास कलेजले लिएको छ।















