कैलाशमा अभिभावक शिक्षा कार्यक्रम सुरु

मकवानपुर । मकवानपुरको विकट कैलाश गाउँपालिकाले अभिभावकलाई लक्षित गरी बृहत अभिभावक शिक्षा तथा सचेतना कार्यक्रमको सुरुवात गरेको छ । विहीबारबाट सुरु भएको कार्यक्रम शनिबार सकिने जनाइएको छ ।

कैलाश–२ मा अवस्थित कमलादेवी माविमा वडा २ का वडाध्यक्ष तथा सामाजिक विकास समितिका संयोजक राजेन्द्र घिसिङको अध्यक्षता तथा गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानको प्रमुख आतिथ्यतामा कार्यक्रमको सुरुवात गरिएको हो ।

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष मुक्तानले गाउँपालिकाले अभिभावक शिक्षा तथा सचेतना कार्यक्रमलाई नीति तथा कार्यक्रममा राखेर यसवर्षदेखी कार्यक्रम सञ्चालन गरिएको बताए । बालबालिकाको सोच परिवर्तन गरि शिक्षा प्रदान गरिनुका साथै अभिभावकको सुझाव अनुसार स्थानीय सरकारले आवश्यक नीति निर्माण गरिने उनले बताए । सामाजिक सञ्जालले विद्यार्थीहरु मात्र नभई अभिभावकमा पनि ठुलो असर पर्दै गइरहेको अध्यक्ष मुक्तानको भनाई छ ।

यस्तै, कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष बालकुमार मल्लले विद्यार्थीलाई शिक्षित बनाउन अभिभावकको ठुलो भूमिका रहने बताए । प्रविधिसँग जोडिनु राम्रो हो तर अहिले मोवाईल प्रयोगले पठनपाठनमा समस्या उत्पन्न भइरहेको उनले बताए । सामाजिक सञ्जालले विद्यार्थीको पढाईमा असर पुगेको छ, त्यसमा अभिभावकले ध्यान दिनु जरुरी रहेको उपाध्यक्ष मल्लले बताए ।

कार्यक्रममा वडाध्यक्ष राजेन्द्र घिसिङले बालबालिकाको पढाईमा शिक्षक र अभिभावक दुबैको दायित्व रहने बताए । अभिभावकले घरमा संस्कार सिकाउनुपर्यो र शिक्षकले विद्यालयमा शिक्षा दिनुपर्यो, यी दुबै भएपछि मात्रै असल र सफल विद्यार्थी बन्ने बताए । सामूदायिक विद्यालयमा पढाएर पनि विद्यार्थीको भविष्य राम्रो रहने बताउँदै पछिल्लो समय सामाजिक सञ्जालको प्रयोगले विद्यार्थी र अभिभावकको दुरी लम्बिएको बताए । माध्यामिक शिक्षाको जग प्राथमिक शिक्षा हो, हामीले प्राथमिक शिक्षालाई प्राथमिकतामा राखेर पठनपाठन गरिनुपर्ने बताए ।

कार्यक्रममा मुख्य प्रशिक्षक अभिषेक घिमिरेले अभिभावक शिक्षा र सचेतना सम्बन्धी कार्यपत्र प्रस्तुत गरी शिक्षा प्रदान गरेका थिए । विहीबार कमलादेवी मावि र वडा ६ मा रहेको व्यास माविको सभाहलमा कार्यक्रम सञ्चालन गरिएको शिक्षा शाखा प्रमुख समीर जोशीले बताए । तीन दिन सञ्चालन हुने कार्यक्रममा बालबालिका सम्बन्धी जनचेतनामूलक गतिविधि, अभिभावक शिक्षा, सामाजिक सचेतना तथा सरोकारवालाबीच अन्तरक्रियाले बालबालिकाको शारीरिक तथा मानसिक विकासमा सहयोग पुग्ने जोशीले बताए । विद्यार्थीको व्यवहार सुधार, सिकाइ क्षमता वृद्धि, घर—विद्यालय सम्न्वय सुदृढीकरण तथा समूदायमा सकरात्मक परिवर्तन ल्याउनुनै कार्यक्रमको मुख्य उद्देश्य रहेको जोशीले बताए ।

कार्यक्रममा शिक्षा शाखा प्रमुख समीर जोशी, मुख्य प्रशिक्षक अभिषेक घिमिरे, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्र सारुमगर, विद्यालयका प्रअ रामएकवाल यादव, स्रोत शिक्षक ध्रुवराज विष्टलगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा २ नम्बर वडामा रहेका विभिन्न विद्यालयका अभिभावकहरुको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.