हेटौँडा । मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा हेटौँडामा देशस्तरीय कृषि प्रदर्शनी आयोजना हुने भएको छ। चैत १३ गतेदेखि १६ गतेसम्म सञ्चालन हुने उक्त प्रदर्शनी हेटौँडा–२ स्थित पल्पसा हलमा हुने आयोजकले जनाएको छ।
मंगलबार आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष प्रमोदसिंह रानाभाटले प्रदर्शनीको तयारी सुरु भइसकेको जानकारी दिए । प्रदर्शनीको उद्घाटन बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री मधुसूदन पौडेलले गर्ने कार्यक्रम रहेको छ।
मकवानपुर उद्योग वाणिज्य संघको आयोजना, बागमती प्रदेश सरकारको सहयोग तथा हेटौँडा उपमहानगरपालिकाको सहकार्यमा हुने प्रदर्शनीमा कृषिसँग सम्बन्धित करिब ४० वटा स्टल रहनेछन्। प्रदर्शनीमा कोदो, जुनेलो, फापर, अचार, बाटेको धुप, केराका सामग्री, म्याट, मस्यौरा, जुनारको जुस, अल्लोका उत्पादन, च्याउ, माछा, डेरी उत्पादनलगायतका सामग्री प्रदर्शन गरिनेछ।
कृषि क्षेत्रमा संलग्न किसान तथा उद्यमीलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको प्रदर्शनीमा स्टल तथा प्रवेश निःशुल्क गरिएको आयोजकले जनाएको छ। कृषिमा युवाशक्तिको आकर्षण बढाउने, उत्पादनको विविधीकरण तथा बजारीकरणमा टेवा पुर्याउने लक्ष्य राखिएको छ।
प्रदर्शनी सञ्चालनका लागि करिब ५ लाख ७५ हजार १७८ रुपैयाँ खर्च अनुमान गरिएको छ। सोमध्ये ५ लाख रुपैयाँ बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले विनियोजन गरेको छ भने बाँकी रकम संघको आन्तरिक स्रोत तथा दाताको सहयोगबाट व्यवस्थापन गरिने जनाइएको छ।
कृषि फर्म दर्ता प्रोत्साहन, अन्तरक्रिया कार्यक्रम तथा कृषक उत्प्रेरणा कार्यक्रमसमेत समावेश गरिने प्रदर्शनीले किसानको मनोबल उच्च बनाउने विश्वास आयोजकको छ।















