हेटौँडा । बागमती प्रदेशको राजधानी हेटौँडामा इद–उल–फित्र (इद) पर्व मनाएको छ । मुस्लिम समुदायले नमाज अदा गर्दै आपसमा शुभकामना आदान–प्रदान गरी उल्लासका साथ सो पर्व मनाएका हुन् ।
हेटौँडास्थित जामे मस्जिदलगायतका मस्जिद तथा इदगाहमा शनिबार बिहानै मुस्लिम धर्मावलम्बीहरू भेला भई इदको नमाज पढेका थिए । नमाज सम्पन्न गरेपछि एक–अर्कासँग गला मिलाउँदै ‘इद मुबारक’ भन्दै शुभकामना साटासाट गरिएको थियो ।
एक महिनासम्म रोजा (व्रत) पूरा गरेपछि मनाइने यो पर्वमा खुसी साट्ने, आफन्त तथा छिमेकीलाई बोलाएर मिठा परिकार खुवाउने, दान गर्ने र भाइचाराको भावना अभिवृद्धि गर्ने परम्परा रहेको छ । जामे मस्जिदका मौलाना जहिर मियाँ अन्सारीका अनुसार इदले आपसी सद्भाव, सहिष्णुता र मानवताको सन्देश दिने गर्दछ ।

इदको दिन बिहानै नुहाइधुवाइ गरी सफा लुगा लगाउने, अत्तर प्रयोग गर्ने तथा सेवइ, फलफूल लगायतका परिकार खाएर नमाजका लागि मस्जिद जाने चलन रहेको छ । रमजान महिनाभर भोक–तृष्णा सहेर आत्मसंयम अभ्यास गरेका मुस्लिम समुदायले इदका दिन खुसी साट्ने गर्दछन् ।















