हेटौंडा अस्पतालमा डिउटी अनुशासन कडाइ गर्न मुख्यमन्त्री बानियाँको निर्देशन

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले डिउटी समयमा चिकित्सक तथा कर्मचारी अनुपस्थित भेटिएपछि हेटौंडा अस्पताल प्रशासनलाई कडा निर्देशन दिएका छन्।

मुख्यमन्त्री बानियाँले बुधबार साँझ मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत हेटौंडा अस्पतालको आकस्मिक अनुगमन गर्दा डिउटीमा खटिनुपर्ने केही चिकित्सक र कर्मचारी अनुपस्थित भेटिएका थिए।

त्यसलगत्तै उनले बिहीबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रालयका सचिव डा. सुमित्रा गौतम, प्रतिष्ठानका उपकुलपति डा. प्रदीप ज्ञवाली, रजिस्ट्रार, हेटौंडा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष भिमसागर गुरागाईं तथा निमित्त निर्देशक डा. हरिबहादुर खड्कालाई बोलाएर छलफल गरेका हुन्। छलफलका क्रममा मुख्यमन्त्री बानियाँले डिउटी समयमा अस्पतालमा नभेटिने चिकित्सक र कर्मचारीलाई सचेत गराई तत्काल सुधार गर्न निर्देशन दिएका छन्।

“डिउटी समयमा अनुपस्थित हुने प्रवृत्ति दोहोरिए प्रदेश सरकारले गैरजिम्मेवार कर्मचारी, चिकित्सक तथा अस्पताल प्रशासनमाथि कारबाही गर्न बाध्य हुनेछ,” उनले भनेका छन्। बिदामा बस्दा एक दिनअघि नै जानकारी गराउन तथा बिरामी सेवामा असर नपर्ने गरी डिउटी मिलान गर्न उनले निर्देशन दिएका छन्। डिउटी समयमा अनिवार्य रूपमा पोसाक (ड्रेस) लगाउन र अस्पतालभित्र सरसफाइमा विशेष ध्यान दिन पनि उनले आग्रह गरेका छन्।

मुख्यमन्त्री बानियाँका प्रमुख स्वकीय सचिव मिलन पुडासैनीका अनुसार अनुगमनलाई नियमित बनाइने र सेवा प्रवाहमा सुधार नभए थप कडाइ गरिनेछ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.