हेटौँडा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै बागमती प्रदेशको राजधानी हेटौँडामा तालिम प्राप्त निर्वाचन प्रहरीको भूमिकाको सम्बन्धमा नमुना अभ्यास (डेमो) सम्पन्न भएको छ ।
जिल्ला प्रहरी कार्यालय तथा वडा प्रहरी कार्यालयमार्फत् तालिम लिएका निर्वाचन प्रहरीको तालिम समापन, नमुना अभ्यास तथा अन्तरक्रिया कार्यक्रम मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
कार्यक्रममा निर्वाचनका समयमा निर्वाचन प्रहरी कसरी परिचालित हुने भन्ने विषयमा भूमिका सहित नमुना मतदान केन्द्र निर्माण गरी अभ्यास समेत गरिएको थियो । सो क्रममा बोल्दै प्रमुख अतिथि अधिकारीले ४० दिनको अवधिलाई अवसरका रूपमा लिएर सेवा गर्न आग्रह गरे । निर्वाचन आयोगले जारी गरेको आचारसंहिताको पालना गर्न भन्दै उनले निर्वाचन प्रहरीको मुख्य दायित्व मतदातालाई भयमुक्त वातावरणमा मतदान प्रक्रियामा सहभागी गराउनुपर्नेमा जोड दिए । उनले निर्वाचन प्रहरीको सुरक्षाको जिम्मेवारी राज्यको भएको भन्दै ढुक्क भएर कर्तव्य पालन गर्न आग्रह गर्दै उत्कृष्ट कार्य गर्ने निर्वाचन प्रहरीलाई सम्मान गरिने पनि जानकारी गराए ।
यस्तै, कार्यक्रममा बोल्दै बागमती प्रदेश निर्वाचन अधिकारी हरि ढकालले निर्वाचन प्रहरीको व्यवहारले मतदान केन्द्रमा खटिने सबैको प्रतिनिधित्व गर्ने भएकाले विनम्र र जिम्मेवार भएर कर्तव्य पालन गर्न जोड दिए । समय कम भए पनि उच्च मनोबलका साथ तोकिएको आचारसंहिता भित्र रहेर काम गर्नुपर्ने उनले बताए । मतदानमा खटिने कर्मचारी र निर्वाचन प्रहरीको दायित्व समान हुने उल्लेख गर्दै उनले जिम्मेवारी बोधका साथ कार्य गर्न अनुरोध गरे ।
मकवानपुर जिल्लामा निर्वाचनका लागि नेपाल प्रहरीतर्फ १ हजार ९ सय २३ जना र सशस्त्र प्रहरीतर्फ १ सय ७९ जना गरी कुल २ हजार १ सय २ जना निर्वाचन प्रहरी भर्ना गरिएको छ । उनीहरूलाई जिल्लाका १० स्थानमा १० दिने तालिम दिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

















