हेटौंडा । पूर्वपश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका शिविरमा ट्रक दुर्घटना हुँदा २ जना घाइते भएका छन् । हेटौंडाबाट चितवनतर्फ चामल लोड लिएर जाँदै गरेको ना ६ ख ६५७४ नम्बरको ट्रक ब्रेक फेल भएर रोडको बायाँ साइडमा पल्टिएको हो ।
दुर्घटनामा ट्रकका चालक पर्साको वीरगञ्ज महानगरपालिका ३१ बस्ने २७ वर्षका सन्दिप चौधरी र सहचालक वीरगञ्ज ३१ कै २० वर्षका विशाल चौधरी घाइते भएका छन् । चालकको अवस्था मध्यम र सहचालकको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
दुवैजनालाई उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक पुस्कर बोगटीले जानकारी दिए । दुर्घटनाको खबर पश्चात प्रहरी सहायक निरीक्षक विसुनदेव महतोको नेतृत्वमा ट्राफिक सहितको टोली घटनास्थल पुगेको थियो । घटनाको विषयमा थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।















