हेटौँडा । पूर्व–पश्चिम सडक खण्ड अन्तर्गत हेटौँडा उपमहानगरपालिका–११ बागथलीमा यात्रुबाहक बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जना घाइते भएका छन्।
सोमबार दिउँसो करिब २:१० बजे नवलपुरबाट हेटौडा बजारतर्फ आउँदै गरेको प्र.२–०३–००५ प ८४३९ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट राजविराज हुँदै भैरहवातर्फ जाँदै गरेको प्र.०१–०१–००१ ख ४०५१ नम्बरको यात्रुबाहक बस एकआपसमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।
दुर्घटनामा मोटरसाइकल चालक सर्लाहीको बरथवा नगरपालिका–३ का अन्दाजी २४ वर्षीय सुलभ बस्नेत घाइते भएका छन्। टाउको र दाहिने हातमा चोट लागेको उनको अवस्था मध्यम रहेको बताइएको छ। प्रहरीका अनुसार घाइते बस्नेतलाई उपचारका लागि सीएमसी चुरेहिल अस्पताल हेटौँडा पठाइएको थियो ।
दुर्घटनामा संलग्न मोटरसाइकल अस्थायी प्रहरी पोष्ट थानाभर्याङको नियन्त्रणमा लिइएको छ । यस्तै, बस र बस चालक सप्तरीको राजविराज नगरपालिका–४ का ५० वर्षीय श्रवण कुमार साहलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरको नियन्त्रणमा राखिएको छ।
उक्त दुर्घटनास्थल अस्थायी प्रहरी पोष्ट थानाभर्याङ मकवानपुरबाट करिब २ किलोमिटर पश्चिमतर्फ पर्छ। घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।















