मकवानपुर । इन्द्रसरोवर गाउँपालिका–१ मार्खुचौरस्थित मार्खु–कंलकी सडक खण्डमा मिनरल वाटर बोकेको आईचर गाडी इन्द्रसरोवर तालमा खसेको छ। शनिबार अपराह्न करिब ४:३० बजे कंलकीबाट मार्खुतर्फ आउँदै गरेको बा ३ ख ३९५४ नम्बरको आईचर गाडी बाटो छेउमा गाडी रोकी पानी झार्ने क्रममा अचानक अगाडि बढ्न गई सडकबाट करिब १५ मिटर तल तालमा खसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।
घटनाको खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट मार्खु मकवानपुरबाट प्र.स.नि. दिपेश यादवको कमाण्डमा प्रहरी टोली घटनास्थलमा खटिएको थियो। हाल आईचर गाडी तालको पानीमा डुबेर बाहिरबाट नदेखिने अवस्थामा रहेको र गाडी निकाल्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ।
घटनामा कुनै मानवीय क्षति नभएको जनाइएको छ। दुर्घटनास्थल अ.प्र.पोष्ट मार्खुबाट करिब ७ सय मिटर पूर्वतर्फ पर्दछ। प्रहरीका अनुसार आईचर गाडीका साहु ललितपुर महानगरपालिका–११ शंखमूलका दिगज आमात्य हुन्।
गाडी चालक गोरखा सुलिगढ गाउँपालिका–१ निवासी २१ वर्षीय सुजन परियार रहेका छन् भने सह–चालक मकवानपुरगढी गाउँपालिका–३ निवासी १८ वर्षीय सुजन जिम्बा रहेका छन्। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।















