सहज राष्ट्रियसभा छोडेर जनताबाटै अनुमोदनको प्रयासमा डिना

मकवानपुर । नेपाली कांग्रेस र नेकपा एमालेको बीच गठबन्धन हुँदा समेत सहजै राष्ट्रियसभा सदस्य बन्न छोडेर कांग्रेसका निवर्तमान केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ जनताबाटै अनुमोदन हुने अभिलासासहित चुनावी अभियानमा होमिएकी छिन् । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उनले मकवानपुर क्षेत्र नम्बर १ बाट उम्मेदवारी दर्ता गराएकी हुन् ।

उनको प्रस्तावकमा कांग्रेस प्रतिनिधिसभा क्षेत्र नम्बर १ का सभापति दामोदर खनाल र समर्थकमा कांग्रेस बागमती प्रदेशका सभापति समेत रहेका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ रहेका छन् । डिना २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा यही क्षेत्रबाट राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार दीपकबहादुर सिंहसँग झिनो मतान्तरले पराजित भएकी थिइन् । त्यसअघि वि.सं.२०४८, २०५१, २०७४ र २०७९ मा उनी मकवानपुरबाट उम्मेदवार बनिसकेकी छिन् ।

यसपटक भने विगतका पराजयलाई बिर्सँदै जित निकाल्ने दावीका साथ चुनावी अभियानमा होमिएकी छिन् । पार्टीका पदाधिकारीले राष्ट्रियसभा सदस्यमा उम्मेदवारी दिन अनुरोध गरेपनि आफू जनताबाटै अनुमोदन भएर जनताको सेवा गर्ने उद्देश्यसहित उम्मेदवार बनेको बताइन् । ‘मलाई राष्ट्रियसभामा जानका लागि भनिएको थियो । यदी सांसद् मात्रै बन्नु थियो भने एमालेसँगको गठबन्धनका कारण त्यो यात्रा निकै सहज पनि थियो’, उनले भनिन्, ‘कांग्रेसका कार्यकर्ता र क्षेत्र नम्बर १ का मतदाताले यसपटक सहयोग गर्छौं भनेर बोलाएकोले आएको हुँ ।’

वि.सं.२०४८ देखि २०७४ सम्म उनले मकवानपुर क्षेत्र नम्बर २ बाट चुनावी प्रतिस्पर्धामा उत्रिएकी थिइन् । ती निर्वाचनमा उनी तत्कालीन नेकपा एमालेका उम्मेदवार विरोध खतिवडासँग पराजित हुँदै आइन् । २०७९ मा भने क्षेत्र परिवर्तन गर्दै मकवानपुर १ बाट चुनावी प्रतिस्पर्धामा होमिएकी थिइन् । गठबन्धनको बलियो अंक गणित हुँदाहुँदै पनि उनी राप्रपाका दीपकबहादुर सिंहसँग पराजित भइन् । यही पराजयले उनलाई आत्ममूल्यांकनतर्फ डो¥याएको छ ।

उनी विगतमा कांग्रेसभित्रकै आन्तरिक असहयोग र कार्यकर्ताप्रतिको विश्वासको कमीलाई कमजोरीका रूपमा स्वीकार्छिन् । ‘हिजोको पराजयबाट पाठ सिक्दै कांग्रेसलाई एकढिक्का बनाउँदै चुनावी अभियानमा होमिएको छु’, डिनाले भनिन्, ‘यसपटक मकवानपुर १ का मतदाताले मन र मत दिएर जिताउनुहुनेछ भन्ने विश्वास लिएको छु । सोही अनुसार चुनावी अभियानमा लागेको छु ।’

मतदाता एवम् कार्यकर्ताबाट उम्मेदवारीको माग आएकोले फेरि एकपटक प्रत्यक्षतर्फ उम्मेदवारी दिएको उनले बताइन् । वि.सं.२०२१ मा जन्मिएकी डिनाको राजनीतिक यात्रा पारिवारिक विरासतसँग जोडिएको छ । उनका हजुरबुवा उदयनाथ अधिकारी प्रजातन्त्र पुनःस्थापनाको संघर्षमा १२ वर्ष जेल बसेका थिए । उनी चितवन कांग्रेसका सभापति समेत रहेका थिए । बुवा र परिवारका अन्य सदस्यहरू समेत कांग्रेस राजनीतिमा सक्रिय थिए ।

डिनाले २०३९ सालमा पद्मकन्या क्याम्पसबाट नेवि संघको राजनीति सुरु गरेकी हुन् । २०४३ मा स्ववियु सभापतिमा समेत निर्वाचित भएकी थिइन् । २०४२ को सत्याग्रहमा शैलजा आचार्यसँगै ७ महिना जेल जीवन बिताएकी उनी २०४७ देखि २०५७ सम्म नेपाल महिला संघ मकवानपुरको अध्यक्ष भएर समेत काम गरेकी थिइन् । कांग्रेसको १४ औँ महाधिवेशनबाट सहमहामन्त्रीमा निर्वाचित डिना २०६४ र २०७० को संविधानसभामा समानुपातिक सभासद रहेकी थिइन् । उनी पूर्व जलस्रोत राज्यमन्त्री समेत हुन् ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.