हेटौँडा । आज माघे सङ्क्रान्ति पर्व देशभर श्रद्धा, भक्ति र हर्षोल्लासका साथ मनाइँदैछ । प्रत्येक वर्ष माघ १ गते मनाइने यो पर्व सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने दिनका रूपमा चिनिन्छ ।
माघे सङ्क्रान्तिलाई विशेषगरी थारु समुदायले ‘माघी’ पर्वका रूपमा मनाउने गर्दछन् । यस दिनलाई नयाँ वर्षको सुरुवात मान्दै थारु समुदायमा परिवार र समाजका महत्वपूर्ण निर्णय गरिने परम्परा छ । परिवारका अगुवा चयन गर्ने, खेतीपाती तथा सामाजिक कार्यको योजना बनाउने चलन पनि रहेको छ ।
यस अवसरमा देशका विभिन्न नदी, कुण्ड र तीर्थस्थलमा स्नान गर्ने, देवदेवीको पूजा–आराधना गर्ने तथा दान–पुण्य गर्ने परम्परा रहेको छ । काठमाडौँको शालिनदी, देवघाट, कालीगण्डकी, कोशी, बागमतीलगायत स्थानमा बिहानैदेखि भक्तजनको भीड लागेको छ ।
माघे सङ्क्रान्तीमा तिल, चाकु, घिउ, तरुल, सखरखण्ड, फापरको ढिँडो, खिचडीजस्ता परिकार खाने चलन छ । यी परिकारले जाडो मौसममा शरीरलाई ऊर्जा र तातोपन प्रदान गर्ने विश्वास गरिन्छ ।
धार्मिक विश्वासअनुसार माघे सङ्क्रान्तीबाट उत्तरायण सुरु हुने भएकाले यस दिनको महत्व अझ बढी मानिन्छ । आजदेखि दिन लामो र रात छोटो हुँदै जाने विश्वास पनि रहेको छ । माघे सङ्क्रान्तीको अवसरमा सरकारले देशभर सार्वजनिक विदा दिएको छ । विभिन्न ठाउँमा सांस्कृतिक कार्यक्रम, मेला तथा सामूहिक भोजको आयोजना गरिएको छ ।















