भीमफेदीमा ४८ महिला स्वास्थ्य स्वयंसेविका सामाजिक सुरक्षा कोषमा समेटिँदै

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिकाले सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकालाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने प्रक्रिया अगाडि बढाएको छ ।

गाउँपालिकाले आधारभूत स्वास्थ्य सेवा प्रवाहमा महत्वपूर्ण भूमिका खेल्दै आएका ४८ जना महिला स्वास्थ्य स्वयंसेविकालाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने उद्देश्यले अनुशिक्षणसमेत सञ्चालन गरेको छ । गाउँपालिका अध्यक्ष हिदम लामाका अनुसार आवश्यक प्रक्रिया पूरा गरी केही दिनभित्रै उनीहरूलाई सामाजिक सुरक्षा कोषमा समेटिनेछ ।

अध्यक्ष लामाले गाउँपालिका भित्र समुदायस्तरमा स्वास्थ्य सेवा पुर्याउँदै आएका महिला स्वास्थ्य स्वयंसेविकाको योगदानको कदर गर्दै पालिकाकै सहयोगमा सामाजिक सुरक्षा योजनामा आबद्ध गराउन लागिएको बताए । उनका अनुसार यसले स्वयंसेविकाको भविष्य सुरक्षित गर्नुका साथै कामप्रतिको उत्साह थप्ने अपेक्षा गरिएको छ ।

भीमफेदी गाउँपालिका अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा योजनामा आबद्ध गराउने देशकै पहिलो स्थानीय तहका रूपमा चिनिन्छ । यसअघि पालिकाले आर्थिक वर्ष २०८० र २०८१ मा यहाँ कार्यरत १ सय ९७ जना अनौपचारिक श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराइसकेको छ, जसमा निर्माण क्षेत्रमा कार्यरत श्रमिकको संख्या बढी छ ।

अनौपचारिक क्षेत्रका श्रमिकका लागि तोकिएको मासिक १० हजार ८२० रुपैयाँ (महँगी भत्ताबाहेक) पारिश्रमिकमध्ये श्रमिकबाट ११ प्रतिशत अर्थात १ हजार १९० रुपैयाँ र गाउँपालिकाबाट ९ दशमलव ३७ प्रतिशत अर्थात १ हजार १४ रुपैयाँ गरी जम्मा २ हजार २०४ रुपैयाँ सामाजिक सुरक्षा कोषमा जम्मा हुने व्यवस्था गरिएको छ ।

भीमफेदी गाउँपालिका र सामाजिक सुरक्षा कोषबीच ३० साउन २०८० मा सम्झौता भएको थियो । सामाजिक सुरक्षा कोषले भने ११ मंसिर २०७७ सालदेखि योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.